काठमाडौं, असोज २८। बडादशैँको धार्मिक उल्लास बढ्दै जाँदा नवरात्रको चौथो दिन बुधबार नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
दशैँ घर तथा पूजा कोठामा घटस्थापना गरी राखिएको जमरा र देवीको आराधनासहित भक्तजनले सुख, शान्ति, समृद्धि र शक्तिको कामना गरिरहेका छन्।
धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीलाई संसारमा व्याप्त तीन प्रकारका ताप र कष्ट हटाउने देवीका रूपमा पूजा गरिन्छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक दुःखबाट मुक्ति दिलाउने विश्वासका कारण नवरात्रको चौथो दिन उनको विशेष आराधना गर्ने परम्परा रहिआएको छ।
दुर्गा सप्तशतीलगायत धार्मिक ग्रन्थमा कुष्माण्डा देवीको महिमा वर्णन गरिएको छ। वैदिक सनातन धर्मावलम्बीले नवरात्रका अवसरमा देवीको पूजा, दुर्गा सप्तशती तथा देवीभागवत पाठ र स्तोत्र वाचन गरी धार्मिक अनुष्ठान गर्ने गर्छन्। देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य, ज्ञान र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी जमरा राखिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। चौथो दिन कुष्माण्डाको आराधनापछि क्रमशः स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिने शास्त्रीय परम्परा छ।
नवरात्रसँगै देशभरका देवी मन्दिर तथा शक्तिपीठमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, शोभाभगवती र कालिकास्थानलगायत मन्दिरमा बिहानैदेखि भक्तजन पुग्ने गरेका छन्।
त्यसैगरी उपत्यकाबाहिर बाराको गढीमाई, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता, काभ्रेको पलाञ्चोक भगवती, गोरखाको मनकामना, कास्कीको विन्ध्यवासिनी र तालबाराही, बागलुङ कालिका तथा डडेलधुराको उग्रतारालगायत शक्तिपीठमा पनि दशैँको अवसरमा विशेष पूजाआराधना गर्ने परम्परा छ।
नवरात्रको नवमीसम्म देवीका नौ स्वरूपको पूजा गरेपछि विजयादशमीका दिनदेखि मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। कोजाग्रत पूर्णिमासम्म मनाइने बडादशैँलाई नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक मिलन र आपसी सद्भावको प्रमुख पर्वका रूपमा लिइन्छ।

