फ्रान्समा महँगी र शिक्षा प्रणालीविरुद्ध युवा प्रदर्शन चर्कियो, २७२ जना पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, कात्तिक १। फ्रान्समा बढ्दो महँगी र खस्कँदो शिक्षा स्तरको विरोधमा युवाहरूको आन्दोलन चर्किएको छ।

आन्दोलनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुनुका साथै सार्वजनिक भवनमा तोडफोड र आगजनीका घटना भएका छन्।

प्रदर्शनका क्रममा शनिबार प्रहरीले देशभरबाट २७२ जनालाई पक्राउ गरेको छ। लियोन सहरस्थित एक पर्यटन कार्यालयमा आगजनी गरिएको छ भने लिल र मार्सेलीमा नगरपालिका भवनहरूमा तोडफोड भएको विवरण सार्वजनिक भएको छ।
पेरिसमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो।

घटनापछि फ्रान्सको गृह मन्त्रालयले हिंसात्मक गतिविधिको निन्दा गर्दै त्यसलाई ‘जानाजानी गरिएको हिंसा’ को संज्ञा दिएको छ।
मन्त्रालयले केही प्रदर्शनकारीमाथि पसल लुटपाट गरेको र प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेको आरोपसमेत लगाएको छ।
यद्यपि, आन्दोलनमा सहभागी युवाहरूको एक समूहले आफूहरू अहिंसात्मक आन्दोलनको पक्षमा रहेको बताएको छ। उनीहरूका अनुसार आन्दोलनको उद्देश्य देशमा परिवर्तन ल्याउनु र विद्यमान समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनु हो।
महँगी र शिक्षा क्षेत्रको अवस्थालाई लिएर सुरु भएको आन्दोलनले फ्रान्सका विभिन्न सहरमा प्रभाव विस्तार गरिरहेका बेला सरकारका लागि सार्वजनिक शान्ति कायम राख्नु र युवाहरूका माग सम्बोधन गर्नु चुनौतीपूर्ण बनेको छ।

Leave a Comment