बारामा स्कारपियोको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु, दुई घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट
फोटो-एआइ

बारा, २ कात्तिक। बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

प्लाई फ्याक्ट्री चोकमा आइतबार बिहान भएको दुर्घटनामा कलैया उपमहानगरपालिका–२१ निवासी १७ वर्षीय धिरज यादवको मृत्यु भएको हो। उनी परमानन्द यादवका छोरा हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११ः३० बजे बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर १९ जी ९९२१ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका धिरजलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान ११ः५५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार कलैया–२१ भोडहाका १६ वर्षीय नगेश साह र सोही स्थानका १८ वर्षीय अरुण यादव पनि घाइते भएका छन्। नगेशको दाहिने हात, अनुहार र बायाँ खुट्टामा चोट लागेको छ भने अरुणको दाहिने हात र खुट्टामा चोट लागेको छ। दुवैको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। नगेशको अवस्था मध्यम र अरुणको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि प्रहरीले स्कारपियो र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार स्कारपियो चालक रौतहटको परोहा नगरपालिका–३ निवासी करिब ३८ वर्षीय अरुण कुमार दुबे हुन्।
प्रहरीले चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाएको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी बरियारपुरको नियन्त्रणमा रहेको छ।
घटनास्थलको मुचुल्का तयार गर्न प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा टोली खटिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।

Leave a Comment