सुनसरी, कात्तिक १। सुनसरीको इनरुवा नगरपालिका–४ स्थित ज्ञानोदय टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
आइतबार बिहान गरिएको खानतलासीका क्रममा ९१५ किलो ६८० ग्राम गाँजा फेला परेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीका अनुसार हनुमान् मन्दिरनजिक रहेको बुलबुल यादवको घरमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो।
पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव रहेका छन्। यस्तै, दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूसँगै एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। बरामद गाँजाको स्रोत तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

