बिल लिने बानीले सन्तमायालाई दिलायो १० लाखको पुरस्कार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, कात्तिक १ । दसैँमा तीन हजार रुपैयाँको सामान खरिद गरेर बिल लिएकी नुवाकोटकी सन्तमाया तामाङले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ जितेकी छन्।

आन्तरिक राजस्व विभागले सञ्चालन गरेको उपहार कार्यक्रममा गोलाप्रथामार्फत तामाङको कुपन बम्पर पुरस्कारका लागि छनोट भएको हो। उनले नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेकी थिइन्।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत उपहारका विजेता घोषणा गरेका थिए। विजेता घोषित भएपछि कलाकारद्वयले फोन गरेर तामाङलाई पुरस्कार परेको जानकारी गराएका थिए।
सुरुमा आफूलाई कसैले जिस्क्याएको ठानेकी तामाङले नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको जानकारी पाएपछि मात्र पुरस्कार जितेको विश्वास गरेकी थिइन्।
विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मका लागि १६ जना दैनिक विजेता पनि छनोट भएका छन्। उनीहरूले कर कट्टीपछि जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।
विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा बिल लिने बानीको विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।
उक्त अवधिमा बिल प्रविष्ट गरेर दुई लाख ७५ हजार ८८४ कारोबार कार्यक्रममा सहभागी भएका थिए। क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका तीन करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा उपहार छनोटमा कुल तीन करोड ७७ लाख ५५ हजार २६४ कारोबार समावेश भएका थिए।
विभागले सबै विजेतालाई कात्तिक १५ गतेभित्र सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्न आग्रह गरेको छ।

Leave a Comment