आज महागौरीको आराधना गरिँदै, शक्तिपीठमा भक्तजनको चहलपहल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, कात्तिक १। बडादशैँको धार्मिक उल्लासबीच नवरात्रको आठौँ दिन आज देशभर महागौरी देवीको पूजा आराधना गरिँदैछ।

दुर्गाका नौ स्वरूपमध्ये आठौँ स्वरूपका रूपमा पूजिने महागौरीको आराधना गर्दै भक्तजनले सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गरिरहेका छन्।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरीको विशेष पूजा गर्ने परम्परा छ। नवरात्रका अवसरमा घरघरमा देवीको पूजा, पाठ तथा धार्मिक अनुष्ठान भइरहेका छन् भने देशका विभिन्न शक्तिपीठ र देवी मन्दिरमा दर्शन गर्न जाने भक्तजनको चहलपहल बढेको छ।
धार्मिक मान्यताअनुसार महागौरी शुद्धता, शान्ति र सौम्यताकी प्रतीक हुन्। सेतो वस्त्र धारण गरेकी र सेतो वृषभमा सवार देवीका रूपमा उहाँको वर्णन धार्मिक ग्रन्थमा गरिएको छ। कठोर तपस्यापछि गौर वर्ण प्राप्त गरेकाले उहाँको नाम महागौरी रहन गएको पौराणिक विश्वास छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर सुरु गरिएको दुर्गा पूजामा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रिको पूजा सम्पन्न भइसकेको छ।

आज महागौरीको पूजा गरिएपछि भोलि नवौँ दिन सिद्धिदात्री देवीको आराधना गरिनेछ।
नवरात्रका नौ दिन देवीको विशेष पूजा आराधना, दुर्गा सप्तशती तथा चण्डी पाठ गर्ने धार्मिक प्रचलन छ। देवीको भक्तिपूर्वक आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्याको प्राप्ति हुने जनविश्वास रहिआएको छ।
दसैँको प्रमुख आकर्षणका रूपमा रहेको नवरात्रले धार्मिक आस्था, पारिवारिक एकता र सांस्कृतिक परम्परालाई जोड्ने काम गर्छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा र आशीर्वाद ग्रहण गरी नेपालीले बडादशैँ मनाउने परम्परा छ।

Leave a Comment