काठमाडौं, कात्तिक २। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। लिगको शीर्ष ६ मा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रन लागेको नेपालका लागि यो खेल निर्णायक बनेको छ।
ओमानको अल अमिरातमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपालले आजको खेल जिते ३० अंकसहित तालिकाको छैटौं स्थानमा उक्लनेछ। तर, पराजित भए शीर्ष ६ मा पुग्ने नेपालको सम्भावना समाप्त हुनेछ।
हाल ३५ खेलबाट २८ अंक जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ। नेपालभन्दा एक स्थान माथि रहेको क्यानडाको २९ अंक छ। त्यसैले अन्तिम खेलमा जित निकाल्दै नेपालले तालिकामा सुधार गर्ने अवसर पाएको छ।
लिग–२ को शीर्ष ६ मा रहने टोलीका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने बाटो तुलनात्मक रूपमा सहज हुने भएकाले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण छ। जितले नेपालको अंकतालिकामा स्थान सुधार गर्नेछ भने हारले थप चुनौती सिर्जना गर्नेछ।
यसअघि नै शीर्ष चारमा पर्ने सम्भावना गुमाइसकेको नेपाल सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा सिधै पुग्न असफल भइसकेको छ। अब विश्वकप छनोटको यात्रा तय गर्न नेपालले प्लेअफ खेल्नुपर्नेछ।
अन्तिम खेलमा ओमानलाई हराउँदै लिग–२ को यात्रा सुखद रूपमा टुंग्याउने र शीर्ष ६ मा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान उत्रनेछ। नेपाली टोलीका लागि आजको खेल अंक जोड्ने प्रतिस्पर्धा मात्र नभई आफ्नो स्थान सुधार गर्ने महत्वपूर्ण अवसरसमेत हो।
शीर्ष ६ मा पुग्ने नेपालको अन्तिम अवसर, ओमानविरुद्ध जित्नैपर्ने दबाब
Leave a Comment
Leave a Comment

