काठमाडौं, कात्तिक २। बढ्दो महँगी र सरकारको सार्वजनिक खर्च कटौती गर्ने नीतिविरुद्ध फ्रान्समा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ।
विभिन्न सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, पसलमा लुटपाट तथा सार्वजनिक भवनमा आगजनीका घटना भएपछि प्रहरीले व्यापक धरपकड गरेको छ। घटनामा संलग्न भएको आरोपमा करिब २ हजार ४०० जना पक्राउ परेको विवरण सार्वजनिक भएको छ।
शनिबार देशका विभिन्न सहरमा भएको प्रदर्शनका क्रममा हिंसा फैलिएको हो। बढ्दो जीवनयापन खर्चबाट आजित नागरिकको असन्तुष्टि र सरकारको आर्थिक नीतिप्रतिको विरोधले आन्दोलन चर्किएको बताइएको छ। सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा आन्दोलनले फ्रान्सको राजनीतिक वातावरणसमेत तनावपूर्ण बनाएको छ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा करिब एक हजार सुरक्षाकर्मी घाइते भएका छन्। राजधानी पेरिसमा मात्रै ८५५ जना पक्राउ परेका छन्। अभियोजन पक्षका अनुसार पक्राउ परेकामध्ये १७१ नाबालिगसहित ५१७ जना हिरासतमा रहेका थिए। आइतबार बिहानसम्म पनि पक्राउ गर्ने क्रम जारी रहेकाले पक्राउ पर्नेको संख्या थप बढ्न सक्ने जनाइएको थियो।
पेरिसमा पक्राउ परेकामध्ये धेरैमाथि चोरीका सामान लुकाएको वा राखेको आशंका, हिंसात्मक गतिविधिमा संलग्न भएको तथा तोडफोड र सार्वजनिक शान्ति भंग गरेको आरोप लगाइएको छ।
मध्य फ्रान्सको लिमोज सहरमा प्रदर्शनका क्रममा ऐतिहासिक नगर भवनमा आगजनी हुँदा भवनको ठूलो हिस्सा क्षतिग्रस्त भएको छ। नगर प्रमुख गुइलेम गुरिनले घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई भयावह घटनाको संज्ञा दिएका छन्।
त्यस्तै, मार्से, लियोन, आभिग्नोन र ग्रेनोबललगायत सहरमा पनि सार्वजनिक भवन तथा पसलहरूमा आक्रमण र तोडफोड भएको विवरण सार्वजनिक भएको छ। हिंसा नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, लाठीचार्ज र पानीको फोहरा प्रयोग गरेको थियो।
प्रदर्शनका क्रममा सुरक्षाकर्मीका साथै सर्वसाधारण पनि घाइते भएका छन्। फ्रान्सेली सञ्चारमाध्यमका अनुसार सेन्ट–एटिएनमा प्रहरीको कारबाहीका क्रममा १७ वर्षीय एक युवकको हात गम्भीर रूपमा क्षतिग्रस्त भई काट्नुपरेको थियो।
हिंसात्मक घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति इमानुएल म्याक्रोनले कुनै पनि आधारमा हिंसालाई उचित ठहर गर्न नसकिने बताएका छन्। उनले शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने नागरिक र तोडफोड, लुटपाट तथा हिंसामा संलग्न हुनेहरूबीच स्पष्ट भिन्नता गर्नुपर्नेमा जोड दिएका छन्। प्रहरी कारबाहीबारे पारदर्शिता कायम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।
यस घटनाले आगामी राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप पनि बढाएको छ। दक्षिणपन्थी नेतृ मरिन ल पेनले अति–वामपन्थी नेता ज्याक–लुक मेलेन्चोनको दलमाथि हिंसालाई प्रोत्साहन गरेको आरोप लगाएकी छन्।
यद्यपि, मेलेन्चोनले प्रदर्शनकारीहरूलाई लुटपाटमा संलग्न नहुन आग्रह गर्दै त्यस्तो गतिविधि आफ्नो राजनीतिक मान्यताविपरीत रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने फ्रान्समा भइरहेको प्रदर्शनको प्रमुख कारण आप्रवासनसम्बन्धी समस्या भएको दाबी गरेका छन्।
महँगी र सरकारी आर्थिक नीतिविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक घटनामा परिणत भएपछि फ्रान्स सरकारमाथि सार्वजनिक सुरक्षा कायम गर्ने र नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्ने दबाब बढेको छ।

