सुनसरीमा एम्बुलेन्सभित्र साढे ५७४ किलो गाँजा, चालक फरार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

सुनसरी, २ कात्तिक। बिरामी ओसारपसार गर्ने एम्बुलेन्सलाई गाँजा तस्करीमा प्रयोग गरिएको पाइएको छ।

सुनसरीको दुहबीमा प्रहरीले ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। घटनामा संलग्न चालकसहितका व्यक्तिहरू भने फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको एम्बुलेन्समा गाँजा रहेको सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो। इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीको संयुक्त प्रहरी टोलीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा गाँजासहितको एम्बुलेन्स फेला पारेको हो।

ना.४ च ६०६३ नम्बर उल्लेख गरिएको उक्त एम्बुलेन्समा ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको थियो। एम्बुलेन्स कुन संस्थाको नाममा सञ्चालन भएको थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। सवारीसाधनमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको वा सामान्य गाडीलाई एम्बुलेन्सको स्वरूप दिएर तस्करी गरिएको हुन सक्ने आशंकासमेत गरिएको छ।
यसैबीच, सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेट पनि बरामद गरेको छ।
सोमबार बिहान करिब ९ बजे भोक्राहा नरसिंह गाउँपालिका–२ निवासी अर्सद अन्सारीको घरमा पार्किङ गरिएको बीआर ३८ एजे ७३१२ नम्बरको मोटरसाइकल जाँच गर्दा ३ ग्राम ६३० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।

मोटरसाइकलबाट स्पाज्मोका ७२ ट्याब्लेट र नित्जासेसीनका ९० ट्याब्लेटसमेत बरामद गरिएको छ। लागुऔषध तथा औषधिका ट्याब्लेट लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले अन्सारीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवाको हिरासतमा राखेको छ। एम्बुलेन्सबाट गाँजा बरामद भएको घटनामा फरार व्यक्तिहरूको खोजी भइरहेको छ भने दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Comment