बारा, कात्तिक २ गते-बाराको परवानीपुर गाउँपालिका–५ नौतन टोलमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ। आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा सर्पले टोकेपछि बिरामी भएकी १० वर्षीया सन्झना कुमारी साहको उपचारका क्रममा मृत्यु भएको हो।
प्राप्त विवरणअनुसार स्थानीय मनोज साहकी छोरी सन्झनालाई कात्तिक १ गते राति करिब ११ बजेर ५५ मिनेटको समयमा सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले टोकेको थियो। सर्पदंशपछि बिरामी भएकी उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो।
अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा कात्तिक २ गते राति १२ बजेर २९ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए।
बालिकाको मृत्यु भएको र शव अस्पतालमै रहेको जानकारी अस्पतालका प्रहरी कर्मचारीमार्फत इलाका प्रहरी कार्यालय प्रसौनीमा प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामबालक साहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ।

