ओमानलाई १० रनले हराउँदै नेपालले निकाल्यो महत्त्वपूर्ण जित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, कात्तिक २। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई १० रनले पराजित गरेको छ।

सोमबार ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मैदानमा भएको खेलमा जित निकाल्दै नेपालले जारी शृङ्खलामा तेस्रो सफलता हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याएको ओमानले सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।
ओमानका लागि जतिन्दर सिंहले ८९ र हमाद मिर्जाले ८७ रन बनाए। दुवै ब्याटरले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। हसनैन साह ४० रनमा अविजित रहे भने हसनैन उल वहाबले १५ र कप्तान बिनायक शुक्लाले १३ रन जोडे।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान दुई–दुई विकेट लिए। कप्तान सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट हात पारे।
यसअघि नेपालको ब्याटिङमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालले अर्धशतकीय योगदान दिएका थिए। रोहितले ८१ बलमा दुई चौका र दुई छक्कासहित ८० रन बनाए। दीपेन्द्रले ६२ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ६९ रन जोडे। त्यस्तै, देव खनालले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रन बनाए।
ईशान पाण्डेले २९ तथा बसिर अहमदले १७ रनको योगदान दिए। ओमानका साह फैसलले नेपालको पाँच विकेट लिए।
ओमानविरुद्धको जितपछि नेपाल लिग–२ को अङ्क तालिकामा छैटौँ स्थानमा उक्लिएको छ। नेपालले प्रतियोगितामा खेलेका ३६ खेलमध्ये १४ मा जित निकालेको छ भने २० खेलमा पराजय भोगेको छ। दुई खेलमा अङ्क बाँडेको नेपालले कुल ३० अङ्क जोडेको छ।

Leave a Comment