काठमाडौँ, कात्तिक ३-फ्रान्समा युवाहरूको विरोध प्रदर्शन देशव्यापी रूपमा फैलिँदै गएपछि सरकारले राजधानी पेरिससहित विभिन्न सहरमा रातको समयमा आवतजावत तथा भेला हुन प्रतिबन्ध लगाएको छ।
विद्यालयको अवस्था सुधार गर्न माग गर्दै सुरु भएको आन्दोलन अहिले महँगी र अन्य राष्ट्रिय मुद्दासमेत समेट्दै उग्र बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो।
प्रहरीका अनुसार पेरिसका प्रदर्शन प्रभावित क्षेत्रहरूमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिएको छ। विशेषगरी प्लेस डे ला रिपब्लिक र ल’अल्ली आसपासका क्षेत्रमा रातिको समयमा मानिसहरूको जमघट नियन्त्रण गर्न यस्तो कदम चालिएको हो। राजधानीका अन्य केही स्थानमा पनि अनुमति नलिई भेला हुन रोक लगाइएको छ।
आन्दोलनको प्रभाव राजधानीमा मात्रै सीमित नरही फ्रान्सका अन्य प्रमुख सहरहरूमा समेत फैलिएको छ। दक्षिणी क्षेत्रका मार्सेली, बोर्डो, नाइस र लियोन तथा उत्तरी सहर लिललगायतका स्थानमा पनि आंशिक कर्फ्यु जारी गरिएको छ।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यसअघि केही सहरमा प्रहरीको नियन्त्रण कमजोर बनेको स्वीकार गरेका थिए। प्रदर्शन नियन्त्रण गर्न सुरक्षा निकाय परिचालन गरिए पनि आन्दोलनकारीको गतिविधि बढेपछि सरकारले थप प्रतिबन्धात्मक उपाय अपनाएको हो।
गत महिना विद्यालयको अवस्था सुधार गर्नुपर्ने मागसहित विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन पछिल्लो समय व्यापक असन्तुष्टिको अभिव्यक्तिका रूपमा अघि बढेको छ।
आन्दोलनकारीले शिक्षा क्षेत्रका समस्यासँगै बढ्दो महँगी र देशका अन्य सामाजिक तथा आर्थिक मुद्दालाई पनि उठाइरहेका छन्।
अधिकारीहरूका अनुसार आन्दोलनका क्रममा हालसम्म दुई हजार पाँच सयभन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन्।
प्रदर्शन नियन्त्रण गर्ने क्रममा करिब एक हजार प्रहरी अधिकारी घाइते भएको विवरण पनि सार्वजनिक भएको छ।
आन्दोलन निरन्तर चर्किँदै जाँदा फ्रान्सका विभिन्न सहरमा जनजीवन, सार्वजनिक सुरक्षा र सरकारी सेवामा पर्ने प्रभावप्रति चासो बढेको छ। सरकारले कर्फ्यु र भेला हुन लगाइएको प्रतिबन्धमार्फत अवस्था नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ।

