काठमाडौं, कात्तिक ४-यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र पारेपछि बेलायतले साउदी अरबको हवाई सुरक्षा मजबुत बनाउन टाइफुन लडाकु विमान तैनाथ गर्ने निर्णय गरेको छ।
बेलायत सरकारले रोयल एयर फोर्सका लडाकु विमान साउदी अरबमा पठाउने घोषणा गरेको हो। यस निर्णयको उद्देश्य साउदी अरबका प्रमुख सहर, ऊर्जा प्रतिष्ठान तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई सम्भावित हवाई आक्रमणबाट जोगाउनु रहेको छ।
बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले विमान तैनाथ गर्ने निर्णयलाई स्वीकृति दिएका छन्। बेलायती रक्षामन्त्री वेस स्ट्रिटिङले मंगलबार जारी गरेको विज्ञप्तिमा लडाकु विमान रक्षात्मक भूमिकामा परिचालन हुने स्पष्ट पारेका छन्। उनका अनुसार ती विमानले हुथी विद्रोहीविरुद्ध प्रत्यक्ष आक्रमण गर्ने छैनन्।
साउदी अरबको राजधानी रियादसहित तटीय क्षेत्रमा रहेका ऊर्जा प्रतिष्ठानलाई लक्षित गरी हुथी विद्रोहीले आक्रमण गरेपछि बेलायतले सुरक्षा सहयोग बढाउने निर्णय गरेको हो।
यमनमा हुथी विद्रोही र साउदी अरबको समर्थन प्राप्त अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारबीच लामो समयदेखि द्वन्द्व जारी छ। सन् २०१४ मा हुथी विद्रोहीले राजधानी सानामाथि नियन्त्रण कायम गर्दै यमनी सरकारलाई विस्थापित गरेका थिए।
यमनमा युद्धविराम भंग भएपछि साउदी अरबको हवाई क्षेत्रको सुरक्षा चुनौती थपिएको छ। पछिल्लो घटनाक्रमले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।
हुथी विद्रोहीको आक्रमण बढेपछि साउदी अरबको सुरक्षामा बेलायतको कदम
Leave a Comment
Leave a Comment

