बारा, मटिअर्वा । कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित नेपाल–भारत सीमा नाकानजिक छ महिनादेखि च्यातिएको अवस्थामा रहेको नेपालको राष्ट्रिय झण्डा जेन्जी युथ बाराले परिवर्तन गरेको छ।
जेन्जी युथ बाराका अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा युवाहरूले पुरानो च्यातिएको झण्डा हटाएर नयाँ राष्ट्रिय झण्डा फहराएका हुन्। दसैँ–तिहारजस्ता महत्वपूर्ण चाडपर्वका समयमा समेत नेपालको राष्ट्रिय झण्डा फोहोर र च्यातिएको अवस्थामा रहँदा सम्बन्धित निकायको ध्यान नपुगेपछि आफूहरूले झण्डा परिवर्तन गरेको जेन्जी युथ बाराले जनाएको छ।
नेपाल–भारत सीमा नाकाजस्तो संवेदनशील तथा महत्वपूर्ण स्थानमा लामो समयसम्म राष्ट्रिय झण्डा च्यातिएको अवस्थामा रहनु दुःखद भएको युवाहरूको भनाइ छ।
राष्ट्रिय झण्डा देशको पहिचान, स्वाभिमान र राष्ट्रिय गौरवको प्रतीक भएकाले यसको संरक्षण तथा सम्मानमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उनीहरूको धारणा छ।
छ महिनादेखि च्यातिएको झण्डा परिवर्तन गर्न सम्बन्धित निकायले चासो नदेखाएपछि आफूहरूले जिम्मेवारीबोध गर्दै नयाँ झण्डा राखेको जेन्जी युथ बाराले जनाएको छ।
यस घटनाले सार्वजनिक स्थलमा राखिएका राष्ट्रिय झण्डाको नियमित हेरचाह, संरक्षण र समयमै मर्मत वा परिवर्तन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

