रवि लामिछानेको दसैँ सन्देश : स्वार्थभन्दा माथि उठेर राष्ट्रहितमा समर्पित हुन आह्वान

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ४ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्र र जनताको हितमा समर्पित हुन सबै नेपालीलाई आह्वान गरेका छन्।
विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले विपत्ति र शोकको अवस्थामा मनाउनुपरेको यस वर्षको दसैँले नेपाली समाजमा एकता, सद्भाव र सकारात्मक सोचको विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।
उनले यस वर्षको दसैँमा धेरै नागरिकले ज्यान गुमाउनुपरेको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित हुनुपरेको दुःखद अवस्थालाई स्मरण गरेका छन्। विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन्।

संकटको यस घडीमा विजयादशमीले नेपाली समाजलाई अझ बलियो एकतामा बाँध्ने विश्वास व्यक्त गर्दै लामिछानेले निराशाबाट आशातर्फ र विपत्तिबाट पुनर्निर्माणतर्फ अघि बढ्न पर्वले नयाँ ऊर्जा प्रदान गर्ने कामना गरेका छन्।

उनले नवदुर्गा भवानीसँग सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सर्वोपरि हितमा निःस्वार्थ भावले काम गर्ने शक्ति, सद्बुद्धि र जस्तोसुकै संकटको सामना गर्ने साहस प्रदान गर्न प्रार्थना गरेका छन्।
असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको विजयादशमीले समाजमा सकारात्मक ऊर्जा र नयाँ आशा सञ्चार गरोस् भन्दै लामिछानेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको शुभकामना दिएका छन्।
लामिछानेले व्यक्तिगत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट दसैँको शुभकामना व्यक्त गरेका हुन्।

Leave a Comment