काठमाडौँ, कात्तिक ४ — राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा गुरु–पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्।
राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरु–पुरोहितबाट बडादशैँको टीका, जमरा तथा प्रसाद ग्रहण गरेका हुन्।
टीका ग्रहणपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएका छन्। राष्ट्रपतिको स्वकीय सचिवालयले यसबारे जानकारी दिएको हो।
त्यसैगरी, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि उपराष्ट्रपति भवन लैनचौरमा बिहान १० बजेर २६ मिनेटकै शुभ साइतमा गुरु–पुरोहितबाट विजयादशमीको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्।
उपराष्ट्रपति यादवले टीका ग्रहण गरेपछि परिवारका सदस्यहरूलाई समेत टीका लगाइदिएका थिए। उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले यसबारे जानकारी दिएका हुन्।
नेपालीहरूको प्रमुख सांस्कृतिक पर्व बडादशैँको विजयादशमीका दिन शुभ साइतमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। यस दिन परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका लगाएर सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको आशीर्वाद लिने गरिन्छ।

