शान्ति वार्ताको पहल भइरहेका बेला युक्रेनमा रुसी आक्रमण, चार जनाको मृत्यु

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, कात्तिक ६ गते-रुस–युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक पहल भइरहेका बेला रुसले युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने सम्झौतामा सहमत हुन युक्रेनलाई आग्रह गरेको केही घण्टामै भएका आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ।

आक्रमणमा ऊर्जा पूर्वाधार, आवासीय भवन तथा अन्य नागरिक संरचनालाई निशाना बनाइएको जनाइएको छ। युक्रेनी प्रहरीका अनुसार राजधानी किएभमा एउटा अपार्टमेन्ट भवनमा ड्रोन ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

त्यस्तै, खार्किभ सहरको बाहिरी क्षेत्रमा भएको आक्रमणमा ८३ वर्षीय पुरुष र ८१ वर्षीया महिलाको ज्यान गएको छ। पोल्टाभा, लिभ, चेर्कासी र चेर्निहाइभ क्षेत्रमा भएका आक्रमणमा अन्य केही व्यक्ति घाइते भएका छन्।
मध्य युक्रेनमा रहेको एउटा विश्वविद्यालयको भवन र सपिङ सेन्टरमा समेत क्षति पुगेको विवरण सार्वजनिक भएको छ। आक्रमणका कारण नागरिक संरचना र ऊर्जा पूर्वाधारमा थप क्षति पुगेको जनाइएको छ।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्यका विषयमा अमेरिका र युक्रेनसँग त्रिपक्षीय शान्ति वार्ता पुनः सुरु गर्न सहमति जनाएको बताइएको छ।
अमेरिकी विशेष दूत स्टिभ विट्कफसँगको भेटवार्तापछि रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले आगामी नोभेम्बरमा प्राविधिक तहको त्रिपक्षीय वार्ता हुन सक्ने जनाएको छ। प्रस्तावित वार्ता नोभेम्बर १० वा त्यसपछि संयुक्त अरब इमिरेट्सको अबुधाबीमा आयोजना हुन सक्ने जनाइएको छ।

वार्तामा युद्ध अन्त्यपछि रुस र युक्रेनको सुरक्षा सुनिश्चित गर्ने उपायलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
युद्ध अन्त्यका लागि वार्ताको सम्भावना अघि बढिरहेका बेला युक्रेनमाथि भएको पछिल्लो आक्रमणले शान्ति प्रयास र नागरिक सुरक्षाबारे पुनः प्रश्न उठाएको छ।

Leave a Comment