बारा, ५ कात्तिक-दसैँको रमझम चलिरहेका बेला आर्थिक अभावका कारण अस्पतालबाट डिस्चार्ज हुन नसकेकी एक बिरामी महिलाका लागि जेन्जी युथ बारा सहारा बनेको छ।
संस्थाले आर्थिक सहयोग संकलन गरेर उपचार खर्च तिर्न नसकेकी महिलालाई अस्पतालबाट डिस्चार्ज गराई घरसम्म पुर्याएको हो।
बाराको देवताल गाउँपालिका–६ निवासी लालु यादवकी श्रीमती बिना देवी बिरामी भएपछि अस्पतालमा उपचार गराएकी थिइन्। उपचार सम्पन्न भए पनि अस्पतालको रकम तिर्न नसक्दा उनी घर फर्कन पाएकी थिइनन्।
महिलाको कठिन अवस्था थाहा पाएपछि जेन्जी युथ बाराले सहयोग संकलन गरी उनलाई अस्पतालबाट डिस्चार्ज गराउन पहल गरेको जनाएको छ।
संस्थाले चाडपर्वका बेला समेत आर्थिक अभावमा परेकी महिलालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएको छ। यस कार्यमा सहयोग गर्ने जेन्जी युथ बाराको सम्पूर्ण टोली, चन्दनकुमार सिंह, उपचारमा ५० प्रतिशतभन्दा बढी छुट उपलब्ध गराउने पी एन्ड पी अस्पताल तथा आर्थिक सहयोग गर्ने सबैप्रति संस्थाले धन्यवाद व्यक्त गरेको छ।
गरिब तथा असहाय नागरिकले उपचारपछि अस्पतालको खर्च तिर्न नसकेर समस्यामा पर्दा सम्बन्धित निकायबाट अपेक्षित सहयोग नपाउनु दुःखद भएको संस्थाको भनाइ छ। यस्तै अवस्थालाई देखेपछि आफूहरू सहयोगका लागि अघि बढ्न बाध्य भएको संस्थाले जनाएको छ।
सहयोग गर्ने व्यक्तिहरूको योगदान पारदर्शी बनाउन र सहयोग सही व्यक्तिसम्म पुगेको सुनिश्चित गर्न घटनासम्बन्धी भिडियो सार्वजनिक गरिएको पनि संस्थाले स्पष्ट पारेको छ।
जेन्जी युथ बाराले असहाय तथा विपन्न नागरिकको अवस्था पहिचान गरी समयमै आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, यस्ता मानवीय कार्यमा समाजका अन्य व्यक्ति तथा संघसंस्थालाई पनि सहयोगका लागि अघि बढ्न आह्वान गरेको छ।
आर्थिक अभावका कारण उपचारपछि पनि अस्पतालमै रोकिनुपर्ने बाध्यतामा परेकी महिलालाई घरसम्म पुर्याउन गरिएको यो पहलले चाडपर्वको वास्तविक खुसी अरूको दुःखमा साथ दिनुमा पनि रहेको सन्देश दिएको छ।

