काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई चार विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। यस हारसँगै विराटनगरको प्लेअफ यात्रा समाप्त भएको छ भने प्रतियोगिताको अन्तिम चार टोली पनि निश्चित भएका छन्।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनाएको थियो।
विराटनगरका लागि चरिथ असलंकाले उत्कृष्ट अर्धशतकीय पारी खेल्दै ४३ बलमा ६ छक्का र एक चौकाको मद्दतमा ६४ रन बनाए।
त्यस्तै शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रनको योगदान दिए। लुम्बिनीका बलर किशोर महतोले दुई विकेट लिए भने रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले एक–एक विकेट हात पारे।
१६७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १९.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। लुम्बिनीको जितमा डार्सी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए। त्यस्तै अलि शेखले २७ रन जोड्दा सन्दीप जोराले २५ रनमा अविजित रहे।
विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले दुई विकेट लिए। रुपेश सिंह र चरिथ असलंकाले एक–एक विकेट हात पारे।
यस जितसँगै लुम्बिनी लायन्सले प्लेअफमा आफ्नो स्थान पक्का गरेको छ। विराटनगर पराजित भएसँगै प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ। अब उपाधिका लागि लुम्बिनी लायन्ससँगै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

