जीवाश्म इन्धनको मुद्दामा विश्व विभाजित, कोप–३१ सम्मेलन ठोस निर्णयबिनै सम्पन्न

पढ्न लाग्ने समय : 4 मिनेट

काठमाडौं । जलवायु परिवर्तन नियन्त्रणका लागि विश्वका देशहरूबीच साझा रणनीति बनाउन आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा निष्कर्षविहीन बनेको छ।

सम्मेलनको अन्तिम सम्झौतामा जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने प्रतिबद्धता समेट्न नसकिएपछि युरोपेली संघ (ईयू), बेलायतसहित विभिन्न देशले प्रस्तावित दस्तावेजप्रति असहमति जनाएका छन्।
टर्कीको अन्ताल्यामा टर्की र अस्ट्रेलियाको संयुक्त अध्यक्षतामा आयोजित सम्मेलनको मुख्य दस्तावेजका रूपमा प्रस्तुत ‘अन्ताल्या प्याक्ट’ मा जलवायु संकटको प्रमुख कारण मानिएको कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासजस्ता जीवाश्म इन्धनको प्रयोग घटाउँदै अन्त्य गर्ने स्पष्ट प्रतिबद्धता समावेश थिएन। यही विषयलाई लिएर सम्मेलनको अन्तिम चरणमा देशहरूबीच मतभेद चुलिएको थियो।
शुक्रबार नै सम्पन्न गर्ने लक्ष्य राखिएको सम्मेलनमा सहमति जुट्न नसकेपछि वार्ता आइतबार दिउँसोसम्म लम्बिएको थियो। जलवायु सम्मेलनको इतिहासमै सबैभन्दा लामो वार्तामध्ये एक बनेको यस सम्मेलनमा मुख्य सम्झौता पारित हुन सकेन।
युरोपेली संघको तर्फबाट बोल्दै आयरल्यान्डका वातावरणमन्त्री ड्याराग ओब्रियनले प्रस्तावित सम्झौताले वर्तमान जलवायु संकटको गम्भीरतालाई सम्बोधन गर्न नसकेको बताए। विज्ञानले प्रमाणित गरेका तथ्य र विश्वव्यापी जलवायु प्रतिबद्धताअनुसारको कार्ययोजना नआएको भन्दै उनले ईयूले उक्त दस्तावेज स्वीकार गर्न नसक्ने स्पष्ट पारे।
जीवाश्म इन्धनको उल्लेखसमेत नभएको सम्झौताले जलवायु संकट समाधानमा आवश्यक प्रगति गर्न नसक्ने उनको भनाइ थियो। ईयूको असन्तुष्टिपछि पानामा, मार्शल आइल्यान्ड्स र नर्वेले पनि प्रस्तावित सम्झौताप्रति आपत्ति जनाएका थिए।
साना टापु राष्ट्र तथा कम विकसित देशहरूले समेत जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने स्पष्ट प्रतिबद्धता सम्झौतामा राख्नुपर्ने माग गरेका थिए। १३० भन्दा बढी देशले यस्तो प्रतिबद्धताको पक्षमा आवाज उठाए पनि अन्तिम दस्तावेजमा त्यसलाई स्थान दिइएन।
अन्ताल्या प्याक्टमा अर्थतन्त्रलाई विद्युतीय प्रणालीतर्फ रूपान्तरण गर्ने, जलवायु परिवर्तनको असर सामना गर्न गरिब तथा जोखिममा रहेका देशलाई धनी राष्ट्रले आर्थिक सहयोग उपलब्ध गराउने र पेरिस जलवायु सम्झौताले निर्धारण गरेको विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य समेटिएको थियो।
तर, जीवाश्म इन्धनको प्रयोगबाट बाहिरिने विषयमा सहमति नजुट्नुका साथै कार्बन क्याप्चर एन्ड स्टोरेज (सीसीएस) प्रविधिसम्बन्धी प्रावधानले पनि विवाद बढाएको थियो। उक्त प्रविधिले कार्बन उत्सर्जन नियन्त्रणमा सहयोग पुर्‍याउने दाबी गरिए पनि जीवाश्म इन्धनको प्रयोगलाई निरन्तरता दिने माध्यम बन्न सक्ने भन्दै केही देशले आलोचना गरेका थिए। साउदी अरबले भने उक्त प्रविधिसम्बन्धी प्रावधानको बचाउ गरेको थियो।
अफ्रिकी समूह, चीन र पाकिस्तानले सम्झौताका केही प्रावधानप्रति असन्तुष्टि जनाएका थिए। पाकिस्तानले केही विषयमा मतभेद भए पनि बाँकी उपलब्धिलाई अस्वीकार गर्न नहुने धारणा राखेको थियो। घानाले पनि वार्ता प्रक्रियाप्रति आलोचना गर्दै बहुपक्षीय सहकार्यबाट पछि हट्न नहुने बताएको थियो।
मुख्य सम्झौता पारित हुन नसके पनि उच्च कार्बन उत्सर्जन गर्ने उद्योगबाट न्यून कार्बन अर्थतन्त्रतर्फ अघि बढ्दा श्रमिकको रोजगारी र जीविकोपार्जन सुरक्षित गर्ने ‘जस्ट ट्रान्जिसन’ लगायतका विषयमा भने निर्णय भएको थियो।
सम्मेलनका अध्यक्ष तथा टर्कीका वातावरणमन्त्री मुरात कुरुमले मुख्य दस्तावेजमा सहमति जुट्न नसकेको स्वीकार गर्दै कुनै पनि देशमाथि निर्णय थोपर्ने प्रयास नगरिएको बताए। सबै पक्षको असहमति रहेकाले सम्झौता पारित नगर्ने निर्णय गरिएको उनको भनाइ थियो।
अस्ट्रेलियाका जलवायु परिवर्तनमन्त्री तथा सम्मेलनका सह–अध्यक्ष क्रिस बोवेनले पनि विभिन्न देशका फरक–फरक अडानका कारण सहमति जुटाउन कठिन भएको बताए। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका कार्यकारी सचिव साइमन स्टिलले अपेक्षित सहमति प्राप्त नभए पनि अन्य विषयमा प्रगति र ठोस निर्णय भएको उल्लेख गरे।
सम्मेलनमा सहभागी पूर्वआयरिस राष्ट्रपति तथा पूर्वसंयुक्त राष्ट्रसंघीय जलवायु दूत मेरी रोबिन्सनले जलवायु संकट समाधानका लागि आवश्यक नेतृत्व र राजनीतिक तत्परता नदेखिएको भन्दै निराशा व्यक्त गरिन्।
विश्वभर तापलहर, खडेरी, बाढी र अन्य चरम मौसमी घटनाहरू बढिरहेका बेला जलवायु सम्मेलनले अपेक्षित परिणाम दिन नसकेको भन्दै सहभागीहरूले आलोचना गरेका थिए। नेपाललगायत हिमाली देशमा हिमनदी पग्लिने, हिमताल विस्फोट तथा अन्य जलवायुजन्य विपद्को जोखिम बढिरहेका बेला विश्वस्तरमा ठोस निर्णय हुन नसक्नुलाई गम्भीर चुनौतीका रूपमा हेरिएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्मेलन साझा निष्कर्षमा पुग्न नसकेकोमा गहिरो निराशा व्यक्त गरेका छन्। जलवायु संकटले माग गरेको गति र आवश्यकताअनुसार सरकारहरू अघि बढ्न नसकेको उनको भनाइ थियो।
यद्यपि, वार्तामा राजनीतिक सहमति जुट्न नसके पनि जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथ्यमा कुनै अस्पष्टता नरहेको गुटेरेसले स्पष्ट पारेका छन्।

Leave a Comment