बालेनको भारत भ्रमणको पहिलो दिन : जयशंकरसँग भेटवार्ता, मोदीसँगको शिखर वार्तामा १० बुँदे एजेन्डा प्रस्तुत हुने

पढ्न लाग्ने समय : 4 मिनेट

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणको पहिलो दिन आइतबार विभिन्न कूटनीतिक गतिविधि भएका छन्।

प्रधानमन्त्री बनेपछि पहिलोपटक भारतको औपचारिक भ्रमणमा रहेका शाहले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन्। सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने शिखर वार्तामा दुई देशबीचका महत्वपूर्ण विषयमा छलफल तथा सहमति हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाह आइतबार अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका हुन्। भारत सरकारले उनको भ्रमणलाई राजकीय भ्रमणको मान्यता दिएको छ। दिल्लीमा उनलाई भारतीय पक्षबाट राज्यमन्त्रीस्तरको स्वागत गरिएको थियो।
भ्रमणको तयारी करिब तीन महिनादेखि भइरहेको थियो। भ्रमणको अन्तिम समयमा केही विषयको प्राथमिकतामा सामान्य फेरबदल गरिएको सरकारी स्रोतले जनाएको छ। आर्थिक सहायता, व्यापार, पारवहन, हवाई मार्ग, ऊर्जा, पूर्वाधार तथा कनेक्टिभिटीलाई प्रमुख एजेन्डाका रूपमा राखिएको छ।
सरकारी पक्षबाट प्राप्त जानकारीअनुसार सोमबार मोदी र शाहबीच हुने औपचारिक वार्तापछि सार्वजनिक गरिने १० बुँदे एजेन्डा सूचीमा दुई देशबीचको सहकार्यका विभिन्न विषय समेटिएका छन्। आर्थिक सहायता र कनेक्टिभिटीका विषयलाई विशेष प्राथमिकता दिइएको बताइएको छ।
आइतबार साँझ प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग करिब २५ देखि ३० मिनेट भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका विषयमा सौहार्दपूर्ण छलफल भएको सरकारी स्रोतले जनाएको छ।
यस भ्रमणमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय निजी क्षेत्रका प्रतिनिधिसँग छुट्टाछुट्टै संवाद गर्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्रीसमेत निजी क्षेत्रसँगको छलफलमा सहभागी हुने परम्परा रहे पनि शाहले यसपटक त्यसलाई निरन्तरता दिएका छैनन्।
सोमबार मोदीसँग निर्णायक वार्ता
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक तथा एकान्त वार्ता गर्नेछन्।
वार्तापछि दुई देशबीच विभिन्न समझदारीपत्र आदानप्रदान हुने र संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारी छ। दुवै प्रधानमन्त्री संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुनेछन्। साथै प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा पनि शाह सहभागी हुने कार्यक्रम छ।
सोमबार नै प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन्। त्यसपछि उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ।
बालेनको कार्यशैली पनि चर्चामा
प्रधानमन्त्री शाहको भारत भ्रमण कूटनीतिक एजेन्डाका कारण मात्र नभई उनको फरक कार्यशैलीका कारण पनि चर्चामा छ। यसअघिका प्रधानमन्त्रीहरूले भारत भ्रमणअघि पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता तथा राष्ट्रपतिसँग परामर्श गर्ने अभ्यास रहे पनि शाहले त्यसलाई निरन्तरता दिएका छैनन्।
उनले भारत प्रस्थान गर्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट नगरेको विषयले पनि राजनीतिक वृत्तमा चर्चा पाएको छ। यसप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले टिप्पणी गरेका छन्। राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको उक्त कदमलाई गणतन्त्रको संस्थागत संरचनामाथि प्रश्न उठाउने अवसरका रूपमा व्याख्या गरेकी छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भारत भ्रमणअघि पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलहरूसँग छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। भ्रमणको रणनीति र विगतका अनुभवबारे परामर्श गरेको भए प्रधानमन्त्रीकै राजनीतिक उचाइ बढ्ने उनको भनाइ छ।
त्यस्तै, प्रधानमन्त्री शाहले पत्नी सविना काफ्लेलाई भ्रमण टोलीमा समावेश गरेका छैनन्। काठमाडौंमा प्रस्थानअघि नेपाली सेनाबाट गार्ड अफ अनरसमेत ग्रहण नगरेका उनले दिल्लीमा भने औपचारिक सम्मान लिएका छन्। ३४ सदस्यीय भ्रमण टोलीको बिदाइ पनि सामान्य रूपमा सम्पन्न भएको थियो।
यसअघि प्रधानमन्त्रीहरू भारत भ्रमणका क्रममा दिल्लीबाहेक अन्य सहरमा पनि जाने गरेका थिए। तर शाहले यसपटक त्यस्तो कार्यक्रम राखेका छैनन्।
प्रधानमन्त्री बन्नुअघि भारतप्रति सामाजिक सञ्जालमा व्यक्त गरेका आलोचनात्मक धारणा र काठमाडौं महानगरपालिकाको मेयर रहँदा देखाएको अडानका कारण पनि उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।
विशेषगरी नेपाल–भारत सीमा विवादको विषय यस भ्रमणको औपचारिक एजेन्डामा नपरेको विषयले नेपालमा बहस सिर्जना गरेको छ। प्रधानमन्त्री शाहले विगतमा संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर समेत आलोचना हुँदै आएको छ।
अब प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच सोमबार हुने शिखर वार्ता, त्यसबाट निस्कने सहमति र सार्वजनिक हुने संयुक्त दृष्टिपत्रले भ्रमणको वास्तविक उपलब्धि निर्धारण गर्नेछ।

Leave a Comment