काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग महत्त्वपूर्ण द्विपक्षीय वार्ता गर्दै छन्।
भ्रमणको दोस्रो तथा अन्तिम दिन प्रधानमन्त्री शाह विभिन्न औपचारिक कार्यक्रम र उच्चस्तरीय भेटवार्तामा सहभागी हुने कार्यतालिका रहेको छ।
प्रधानमन्त्री शाहले भारतीय समयअनुसार बिहान १० बजे राष्ट्रपति भवनमा आयोजना हुने औपचारिक स्वागत समारोहमा सहभागिता जनाउनेछन्। त्यसपछि बिहान १०ः४० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
आज बिहान ११ बजे नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। उक्त वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
वार्तापछि दिउँसो १२ः२५ बजे दुवै देशबीच समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
यसअघि आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताजमहलमा भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका थिए। उक्त भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
छलफलका क्रममा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाएको थियो।
प्रधानमन्त्री शाहले आजका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि अपराह्न ४ः५० बजे भ्रमण टोलीसहित स्वदेश फर्किने कार्यक्रम रहेको छ। यससँगै प्रधानमन्त्री शाहको दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न हुनेछ।

