सर्लाही, मंसिर ७ । उपचारका क्रममा नौ महिनाकी गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा तनाव उत्पन्न भएको छ।
आक्रोशित आफन्तले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी तथा तोडफोड गरेका छन्। घटनामा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालले जनाएको छ।
बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि शनिबार साँझ अस्पतालमा घटना भएको हो। तीन दिनदेखि बिरामी रहेकी उनी बरहथवा नगर अस्पतालमा उपचाररत थिइन्।
प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे उपचार भइरहेका बेला उनी अचानक बेहोस भएकी थिइन्। चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको आरोप लगाउँदै आफन्तले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए।
त्यसपछि थप उपचारका लागि उनलाई चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो। तर, चिकित्सकले शनिबार राति १० बजेर ५३ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।
घटनापछि बरहथवा नगर अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी हुँदा भौतिक संरचना तथा उपकरणमा क्षति पुगेको छ। अस्पतालका सूचना अधिकारी राजेश गुप्ताका अनुसार आगजनी र तोडफोडबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ।
आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको छ।
घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित थप अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
प्रहरीका अनुसार आइतबार बिहानसम्म अस्पताल क्षेत्रको अवस्था सामान्य रहेको छ।
यता, गर्भवती महिलाको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको हो वा होइन भन्ने विषयमा अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

