हैदराबाद हाउसमा प्रधानमन्त्री बालेन शाह र मोदीबीच उच्चस्तरीय वार्ता, नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

पढ्न लाग्ने समय : 2 मिनेट

दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय भेटवार्ता भएको छ।

दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय सहकार्य विस्तार गर्ने तथा विकास परियोजनालाई गति दिने विषयमा केन्द्रित रहेर सोमबार दुवै देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।
हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेपछि दुवै नेताबीच एक्लाएक्लै भेटवार्ता भएको थियो। त्यसलगत्तै नेपाल र भारतका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागितामा प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ।
बैठकमा नेपालका तर्फबाट प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी छन्। भारतीय पक्षबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री डा. एस. जयशंकरसहित उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको छ।
प्रतिनिधिमण्डलस्तरीय बैठकमा नेपाल–भारत सम्बन्धका विभिन्न आयाम, आपसी हित र चासोका विषय, विकास सहकार्य तथा दुई देशबीचको साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ।
बैठकपछि सोमबार दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। त्यसैगरी दुई देशबीच समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान गर्ने र दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
यसअघि सोमबार बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो। भारत भ्रमणका क्रममा उनलाई औपचारिक राजकीय सम्मान प्रदान गरिएको हो। त्यसपछि प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए।
प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ। भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा पनि प्रधानमन्त्री शाह सहभागी हुनेछन्।
नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई दुई देशबीचको परम्परागत सम्बन्धलाई थप मजबुत बनाउने, राजनीतिक तथा कूटनीतिक संवादलाई निरन्तरता दिने र आर्थिक एवं विकास साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाहको यो दुईदिने राजकीय भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता, समझदारी र सम्झौताले आगामी दिनमा नेपाल–भारत सहकार्यको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

Leave a Comment