शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, शिक्षक संघ बारा अध्यक्ष सहनी घाईते

बिश्व खबर
पढ्न लाग्ने समय : 2 मिनेट

१४ वैशाख, काठमाडौं : आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो ।

झड्पको क्रममा केही शिक्षक घाइते भएका छन ।

शिक्षकहरू आक्रामक बनेपछि बल प्रयोग गरेको प्रहरीको दाबी छ। प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको छ। त्यसबाट ७ जना शिक्षक घाइते भएको पनि एसपी अपिलराज बोहराले बताए ।

घाइतेहुनेमा नेपाल शिक्षक संघ बाराका अध्यक्ष  अध्यक्ष राजकिशाेर सहनी,उपाध्यक्ष शुभाषचन्द्र यादव,संघिय प्रतिनिधी बाबुराम लगायतका रहेका छन । उनीहरूकाे नयाबानेश्वर स्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेकाे छ । अरू विवरण संकलन गरिरहेको र केही प्रहरीलाई पनि चोट लागेको उनले बताए।

शिक्षक पूर्ण ब्लोनले प्रदर्शनमा घुसपैठ भएको दाबी गरे । ‘हामी आफ्नो माग राखेर आन्दोलन गरिरहेका थियौं । आन्दोलनमा घुसपैठ भएको हो । एउटा समूह घेरा तोड्न खोज्यो। त्यसपछि झडप भएको हो । पानीको फोहोरा प्रहार भयो ।’ उनले झडपमा केही शिक्षक घाइते पनि भएको बताए ।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।

सरकारी शिक्षकहरुको आन्दोलन निरन्तर जारी भएकाले नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ । वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।

Leave a Comment