काठमाडौँ, मंसिर २६ — अस्ट्रियाले सार्वजनिक र निजी दुवै प्रकारका विद्यालयहरूमा हिजाब लगाउन प्रतिबन्ध लगाउने नयाँ कानुन पारित गरेको छ। दक्षिणपन्थी गठबन्धनको नेतृत्व रहेको सरकारले यसलाई “लैंगिक समानताप्रतिको स्पष्ट कदम” भनेको छ।
तर, कानुन पारित भएको केही घण्टामै नै मानवअधिकार संगठन र मुस्लिम समुदायका प्रतिनिधिहरूले तीव्र विरोध जनाएका छन्। उनीहरूले यो कदम मुस्लिमविरोधी भावनालाई बढाउने र असंवैधानिक हुने दाबी गरेका छन्।
🔹 पूर्वमा खारेज भएको थियो यस्तै नियम
सन् २०२० मा १० वर्षमुनिका बालिकालाई हिजाबमा रोक लगाएको कानुनलाई अस्ट्रियाको संवैधानिक अदालतले अवैध घोषणा गरेर खारेज गरेको थियो।
🔹 उल्लंघन भए कस्तो कारबाही?
नयाँ कानुन उल्लंघन भइरहेको पत्ता लागेमा विद्यालयले बाल तथा युवा कल्याण एजेन्सीलाई जानकारी दिनेछ।
बारम्बार नियम नमानिएमा अभिभावकलाई ८०० युरो (झण्डै ८४ हजार रुपैयाँ) सम्म जरिवाना तिर्नु पर्ने प्रावधान छ।
🔹 विवाद अझै बढ्ने संकेत
सरकारले समानताको नाममा अघि बढेको दाबी गरे पनि, विरोधीहरू यो कदमले विद्यालयहरूमा धार्मिक स्वतन्त्रता सीमित हुने र समुदायबीच तनाव बढ्ने चेतावनी दिइरहेका छन्।






