काठमाडौँ, पुस २
नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहानदेखि विद्युतीय मतदान जारी छ। अत्याधुनिक प्रविधि प्रयोग गरिएको भनिए पनि मतदान प्रक्रिया भने अपेक्षाकृत ढिलो भइरहेको छ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार ८० वटा भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ११ः३० बजेसम्म करिब ३८० मत खसिसकेको छ। आयोगले आज राति ८ बजेसम्म मतदान सकिने अनुमान गरे पनि अवस्था हेर्दा १–२ घण्टा ढिलो भई राति १० बजेसम्म पुग्न सक्ने जनाएको छ।
केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले भने,
“प्रारम्भिक अनुमान अनुसार मतदान आजै सम्पन्न हुन्छ। केही प्राविधिक र व्यवहारिक कारणले ढिलाइ भए पनि राति १० बजेसम्म मतदान सकिनेछ।”
३०–५० मिनेट लाग्ने मतदान
विद्युतीय मेसिन प्रयोग गरिए पनि एक जना मतदातालाई मतदान गर्न २५ देखि ३० मिनेट, कतिपयलाई ५० मिनेटसम्म लागिरहेको गुनासो आएको छ। कारण हो—उम्मेदवारको अत्यधिक संख्या।
एक महाधिवेशन प्रतिनिधिले नेपालखबरसँग भने,
“जान्ने मान्छेलाई पनि आधा घण्टा लाग्छ। सूची हेर्दै निर्णय गर्नेहरूलाई त झन् ५० मिनेटसम्म पुग्छ।”
यस निर्वाचनमा एक जना मतदाताले करिब ३०० जना उम्मेदवारका लागि मत हाल्नुपर्ने व्यवस्था छ। अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म पदानुक्रमअनुसार मतदान गर्नुपर्ने भएकाले प्रक्रिया थप लामो भएको हो।
यस्तो छ मतदान प्रक्रिया
मतदानका लागि बुथभित्र प्रवेश गरेपछि टच स्क्रिनमा उम्मेदवारको नाम र फोटो देखिन्छ। मतदाताले रोजेको उम्मेदवारको फोटोमा टच गरेपछि स्वस्तिक चिन्ह देखिन्छ, जसले मत सदर भएको संकेत गर्छ। सबै पदमा मतदान पूरा भएपछि मेसिनले ‘बिप’ आवाज वा अडिओ सन्देशमार्फत मतदान सफल भएको जानकारी दिन्छ।
अशक्त तथा सहयोग आवश्यक पर्ने प्रतिनिधिलाई प्राथमिकता दिइएको छ भने आफैँ मतदान गर्न नसक्नेले इच्छाएको व्यक्तिबाट सहयोग लिन पाउने व्यवस्था गरिएको छ।
३०१ सदस्यीय केन्द्रीय कमिटी चयन
जारी निर्वाचनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ। पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना चयन हुनेछन्।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ। दुई प्यानलबाट गरी करिब ६५० जना उम्मेदवार चुनावी मैदानमा छन्।
कहिले आउला नतिजा?
मतदान प्रक्रिया समय लाग्ने भए पनि मतगणना भने छिटो हुने आयोगको दाबी छ। विद्युतीय मेसिनबाट संकलित मत संख्या जोडेर प्रमाणीकरण गर्न करिब ४–५ घण्टा लाग्ने अनुमान गरिएको छ।
यससँगै, एमालेको बहुप्रतिक्षित नेतृत्व चयनको नतिजा मतदान सकिएको केही घण्टामै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

