काठमाडौं, असोज २० — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
वरिष्ठ उपसभापतिका लागि मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र शर्माको मात्रै उम्मेदवारी परेपछि उनी वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।
त्यस्तै, महिलातर्फ उपसभापति पदमा पुष्पा भुसालको मात्रै उम्मेदवारी परेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। एकल उम्मेदवारी परेसँगै भुसाल पनि उपसभापतिमा निर्विरोध निर्वाचित भएकी हुन्।
शर्मा यसअघि गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन भएका थिए। त्यसअघि २०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भएका थिए।
भुसाल पनि गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट उपसभापति बनेकी थिइन्। १५औँ महाधिवेशनमा दुवै नेताले सोही पदमा निरन्तरता पाएका छन्।

