अभ्यास खेलमा ओमान ‘ए’ माथि नेपालको रोमाञ्चक जित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, असोज २१ — आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ।

ओमान क्रिकेट एकेडेमीको टर्फ–२ मा भएको खेलमा नेपालले २४० रनको लक्ष्य ४८.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो। अभ्यास खेल भएकाले ओमानले दिएको प्रारम्भिक १६१ रनको लक्ष्यलाई नेपालले बढाएर २४० रन बनाउने निर्णय गरेको थियो।
नेपालको जितमा इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ७२ रन बनाए। आसिफ शेखले ३७, देव खनालले ३४ र गुल्शनकुमार झाले ३० रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले १९ रन बनाए।
यसअघि टस हारेर ब्याटिङ गरेको ओमान ‘ए’ ३९.५ ओभरमा १६० रनमा समेटिएको थियो। ओमानका कप्तान हम्माद मिर्जाले ५४ रन बनाउँदा जिक्रिया इस्लामले ३५ र सन्जु सजीवले ३४ रन जोडे।
नेपालका बलरमध्ये नन्दन यादवले तीन विकेट लिए। करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए भने गुल्शनकुमार झा, ललितनारायण राजवंशी र शाहब आलमले एक–एक विकेट हात पारे।
नेपालले विश्वकप लिग–२ अन्तर्गत ओमानमै ओमान र क्यानडासँग एकदिवसीय शृङ्खला खेल्दैछ। सोही शृङ्खलाको तयारीस्वरूप नेपाली टोलीले अभ्यास खेल खेलिरहेको हो।

Leave a Comment