गोप्य सूचना चुहाउनेमाथि सरकार कठोर बन्छ : गृहमन्त्री गुरुङ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज २० — गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा बाहिर पुर्‍याउने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्।
गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायमा कार्यरत पदाधिकारी र कर्मचारीले आफ्नो जिम्मेवारीको दुरुपयोग गर्दै गोप्य सूचना चुहाउने प्रवृत्तिप्रति सरकार गम्भीर रहेको उनले बताएका हुन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले आफूले लामो समयदेखि सूचना चुहावटसम्बन्धी गतिविधिलाई निगरानी गरिरहेको उल्लेख गरेका छन्।
उनको भनाइ यस्तो समयमा आएको हो, जतिबेला सरकारले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सूचना चुहाएको आरोपमा सोमबार निलम्बन गरेको थियो। दाहालमाथिको आरोपबारे छानबिन गर्न सशस्त्र प्रहरीको मानव स्रोत विभागमा कार्यरत अतिरिक्त महानिरीक्षक अन्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको छ।
गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न नहुने स्पष्ट पारेका छन्। उनका अनुसार सुरक्षा निकायबाट प्राप्त हुने सानो सूचना वा सुराकले समेत अपराध नियन्त्रण, अनुसन्धान तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको वास्तविकता पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
उनले राज्यले जिम्मा दिएको गोपनीयता जानीजानी भंग गर्ने र देश तथा संगठनप्रति विश्वासघात गर्ने व्यक्तिलाई कुनै प्रकारको उन्मुक्ति नदिइने बताएका छन्।
गुरुङले पदीय जिम्मेवारीका कारण संवेदनशील सूचनामा पहुँच प्राप्त भए पनि त्यसलाई दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको भन्दै गोपनीयता कायम गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्।

Leave a Comment