काठमाडौँ, असोज २१ — बडादशैँ, दीपावली, नेपाल संवत् र छठलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रहरीले छठ पर्वको भोलिपल्टसम्म लागू हुने गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार चाडपर्वका बेला नागरिकको आवागमन सुरक्षित बनाउन तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।विशेष सुरक्षा योजनाअन्तर्गत चोरी, डकैती, जुवातास, सट्टेबाजी, सीमा अपराध, तस्करी, कालोबजारी, डिजिटल ठगी र सवारी दुर्घटना
नियन्त्रणलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। बैंक तथा वित्तीय संस्था, बजार क्षेत्र, मुख्य सडक तथा यात्रुको बढी चाप हुने स्थानमा समेत निगरानी बढाइएको छ।
यात्रुलाई सहजता प्रदान गर्न देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष तथा हेल्प डेस्क सञ्चालनमा ल्याइएको छ। भारत र चीनसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकामा थप १०८ वटा सहायता कक्ष स्थापना गरी सीमा अपराध, तस्करी र अवैध वस्तुको ओसारपसार नियन्त्रणमा निगरानी बढाइएको छ।
सुरक्षा व्यवस्थापनका लागि काठमाडौँ उपत्यका, प्रदेश र जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरिएको छ। प्रहरीले पैदल तथा मोबाइल गस्ती, ग्रामीण गस्ती, द्रुत प्रतिकार्य टोली, लामो दूरीको गस्ती तथा संयुक्त गस्तीलाई समेत सक्रिय बनाएको छ।
मुख्य नाका र संवेदनशील क्षेत्रमा संयुक्त चेकजाँच तथा ट्राफिक प्रहरीसहितको निगरानी बढाइएको प्रहरीले जनाएको छ। चाडपर्वका बेला हुने भीडभाड, यात्रुको चाप र आर्थिक कारोबारलाई समेत ध्यानमा राखेर सुरक्षा संयन्त्र परिचालन गरिएको हो।
प्रहरीले कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

