३ पुस, काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि (शुक्रबार) बस्ने भएको छ। बैठक दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वेटमा आह्वान गरिएको पार्टीले जनाएको छ।

महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार काठमाडौंमा पद तथा गोपनीयताको शपथ लिएका छन्। निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सर्वप्रथम शपथ लिएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूको स्पष्ट वर्चस्व देखिएको छ। यस महाधिवेशनमा अध्यक्ष ओली र ईश्वर पोखरेल आ–आफ्नै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
एघारौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै पार्टीको आगामी कार्यदिशा, संगठनात्मक संरचना तथा जिम्मेवारी बाँडफाँटलगायत विषयमा छलफल गर्न केन्द्रीय कमिटीको पहिलो बैठक महत्वपूर्ण मानिएको छ। बैठकले स्थायी कमिटी, पोलिटब्युरो गठन तथा अन्य आवश्यक निर्णयहरू लिने अपेक्षा गरिएको छ।
नवनिर्वाचित नेतृत्वले पार्टीलाई थप सुदृढ बनाउँदै समसामयिक राजनीतिक चुनौतीहरू सामना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



