बाढीले बगाएर ल्याएको बैंकको सेफ फुटाएर ९२ लाखभन्दा बढी रकम निकाल्ने २९ जना पक्राउ

पढ्न लाग्ने समय : 1 मिनेट

धादिङ — त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ तोडफोड गरी त्यसभित्र रहेको ठूलो रकम निकालेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा शुक्रबार एउटा बैंकको सेफ फेला परेको थियो। नदीले बगाएर ल्याएको उक्त सेफ उनीहरूले तोडफोड गरी त्यसमा रहेको नगद रकम आफूखुसी निकालेको आरोप छ।

घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने भएकाले त्यसतर्फ थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।

Leave a Comment