अमेरिकामा जेट दुर्घटना, पूर्व नास्कार चालकसहित सात जनाको ज्यान गयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

४ मंसिर-अमेरिकाको नर्थ क्यारोलिनास्थित स्टेट्सभिल क्षेत्रमा भएको विमान दुर्घटनामा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा पूर्व नास्कार चालक ग्रेग बिफल र उनका परिवारका सदस्यहरू समेत परेका छन्।

स्थानीय समयअनुसार राति करिब पौने ११ बजे सेस्ना ५५० व्यवसायिक जेट दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनापछि विमानमा आगलागी भई पूर्ण रूपमा जलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ।

फ्लोरिडातर्फ गइरहेको विमान उडानको केही समयमै प्रतिकूल मौसमका कारण विमानस्थल फर्किन खोज्दा दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

घटनापछि सम्बन्धित विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। रनवेमा छरिएका भग्नावशेष हटाएर सुरक्षात्मक जाँच पूरा गरेपछि मात्रै विमानस्थल पुनः सञ्चालनमा आउने अधिकारीहरूले बताएका छन्।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ।

Leave a Comment