काठमाडौं, असोज १ । गाजा सहरमा युद्धका क्रममा क्षतिग्रस्त भइसकेको एउटा भवन ढल्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ। मृतकमध्ये आठ जना बालबालिका रहेको उद्धारकर्मीहरूले जनाएका छन्।
ताल अल–हवा क्षेत्रमा रहेको भवन राति अचानक भत्किएको हो। भवनको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको आशंका गरिएको छ। उद्धार टोलीले बेपत्ताको खोजी गरिरहेको भए पनि आवश्यक उपकरणको अभावका कारण काम प्रभावित भएको बताइएको छ।
स्थानीयवासीका अनुसार इजरायली आक्रमणका कारण उक्त भवन एक वर्षभन्दा अघिदेखि नै कमजोर बनेको थियो। भवन एकातर्फ ढल्किएर जोखिमपूर्ण अवस्थामा पुगे पनि युद्धका कारण विस्थापित भएका परिवारहरू सुरक्षित स्थानको अभावमा त्यहीँ बस्न बाध्य थिए।
घटना हुँदा भवनका अपार्टमेन्टमा करिब १० परिवार बसिरहेको स्थानीयको भनाइ छ। भवन भत्किएपछि आफन्तहरूले भग्नावशेषमुनि परेका मानिसको जीवितै उद्धार हुने आशामा उद्धार टोलीको पर्खाइ गरिरहेका छन्।
बेपत्ताको खोजीका लागि संयुक्त राष्ट्रसंघका निकाय तथा इजिप्टबाट आएको टोली पनि परिचालन भएको छ। तर भग्नावशेष हटाउन आवश्यक मेसिन तथा उपकरण पर्याप्त नहुँदा उद्धार कार्य सुस्त भएको अधिकारीहरूले बताएका छन्।
उद्धार कार्य जारी रहेकाले घटनामा ज्यान गुमाउने तथा बेपत्ता हुनेको संख्या थप बढ्न सक्ने जनाइएको छ।

