१५ पुस, काठमाडौं।
गुरुङ समुदायले आजदेखि नयाँ वर्षको सुरुवात गर्दै तमु ल्होसार पर्व उल्लासपूर्ण वातावरणमा मनाइरहेका छन्। पुरानो वर्षलाई विदाइ र नयाँ वर्षलाई स्वागत गर्ने परम्परासँग जोडिएको यो पर्व गुरुङ संस्कृतिको महत्वपूर्ण चाड हो।
तमु भाषामा ‘ल्हो’ ले वर्ष र ‘सार’ ले परिवर्तनलाई जनाउँछ। यही कारण वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ। सूर्यको गतिसँग सम्बन्धित मानिने यो पर्व गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतलगायत जिल्लामा विशेष रुपमा मनाइन्छ।
जानकारहरूका अनुसार पुस महिनामा ती क्षेत्रमा सूर्यको ताप छिटो पुग्ने भएकाले यही समयमा तमु ल्होसार मनाउने चलन बस्दै आएको हो। यसै कारण तामाङ समुदायले माघ र शेर्पा समुदायले फागुन महिनामा ल्होसार मनाउने परम्परा रहेको छ।
पुस १५ गते वर्षकै सबैभन्दा लामो रात पर्ने र त्यसपछि दिन क्रमशः बढ्दै जाने भएकाले पनि यस पर्वलाई प्रतीकात्मक रूपमा नयाँ सुरुवातको दिन मानिन्छ।
तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायको आयोजनामा सांस्कृतिक कार्यक्रम, मौलिक नृत्य, गीत तथा परम्परागत परिकारको प्रदर्शनी आयोजना गरिएको छ। आइतबारदेखि सुरु भएको ल्होसार महोत्सवमा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।

