बहुमतको निर्णयबाट अलग जान सकिनँ : शेखर कोइराला विशेष महाधिवेशनको भावना सही भए पनि संस्थागत निर्णय मान्नुपर्ने बाध्यता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनको मागप्रति आफू भावनात्मक रूपमा सहमत भए पनि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा गरेको निर्णयबाट अलग भएर अघि बढ्न नसकिएको स्पष्ट पारेका छन् ।

शनिबार विशालनगरस्थित सम्पर्क कार्यालयमा पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायत नेता–कार्यकर्तासँगको छलफलमा कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफूले संवादको पहल गरेको बताए । तर, संस्थागत संरचनामा बहुमतले गरेको निर्णय अस्वीकार गरेर विद्रोहको बाटो रोज्न नसकिने उनको भनाइ थियो ।

‘विशेष महाधिवेशन पक्षधर साथीहरूको भावना मेरो आफ्नै भावना हो,’ छलफलमा सहभागी एक नेताको भनाइ उद्धृत गर्दै कोइरालाले भने, ‘तर केन्द्रीय कार्यसम्पादन समितिमा भएको बहुमतको निर्णय मान्नुपर्ने बाध्यता छ । त्यसबाट अलग भएर जान सकिएन ।’

उनले विशेष महाधिवेशनको माग उठाउने नेता–कार्यकर्ताहरूको भावना सम्बोधन गर्न केन्द्रीय कार्यसमितिलाई समझाउने प्रयास गरेको तर त्यो प्रयास सफल नभएको पनि स्वीकार गरे । ‘मैले कार्यसमितिलाई कन्भिन्स गर्ने प्रयास गरेँ, तर सफल हुन सकिनँ,’ कोइरालाको भनाइ थियो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले शुक्रबार बहुमतबाट १५औँ महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेको थियो । उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच जना नेताले असहमति जनाएका थिए । महामन्त्री थापाले विशेष महाधिवेशन नबोलाइए पुसभित्रै आफूहरूले बोलाउने चेतावनीसमेत दिएका छन् ।

कोइराला यसअघि नै पुसभित्र नियमित महाधिवेशन हुन नसके केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा सार्वजनिक गर्दै आएका थिए । शनिबारको छलफलमा उनले आफू निकट नेताहरूलाई पार्टीभित्र चुलिएको विवाद समाधानका लागि संवाद प्रक्रिया सुरू गरिएको जानकारी गराएका छन् ।

छलफलमा सहभागी केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलका अनुसार कोइरालाले आइतबार विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका नेताहरूसँग पनि अलग्गै छलफल गर्ने तयारी गरेका छन् ।

शनिबारको छलफलमा देवराज चालिसे, उज्वल बराल, दिक्पालबहादुर शाही, कालिबहादुर सहकारीलगायत नेता सहभागी थिए । उनीहरूले कोइरालालाई विशेष महाधिवेशनको अभियानलाई अपनत्व लिन र पार्टी नेतृत्वबीच सहमतिको सेतु बन्न आग्रह गरेका थिए ।

नेता दिक्पालबहादुर शाहीका अनुसार अभियानमा संलग्न नेताहरूले कोइरालासँग शीर्ष नेतृत्व र महामन्त्रीहरूबीच सहमति खोज्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पार्टीभित्रको द्वन्द्वको सुरक्षित अवतरण, मुलुकमा देखिएको समग्र संकट र विशेष महाधिवेशन सम्बन्धी विषयमा गहन छलफल भएको जानकारी दिए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र असन्तुष्ट पक्षबीच कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल केन्द्रित रहेको उनले बताए ।

कांग्रेस दोलखाका सभापति बर्मा लामाले पनि नेता कोइरालाले पछिल्लो राजनीतिक परिस्थितिबारे राय–सुझाव लिएको प्रतिक्रिया दिएका छन् । ‘यो कुनै औपचारिक निर्णय होइन, पार्टी मिलाउने उपाय खोज्न सुझाव लिने प्रक्रिया हो,’ उनले बताए ।

Leave a Comment