काठमाडौँ, आइतबार २० पुस २०८२
अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको मृत्यु भएको दाबी गरिएको छ। न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको रिपोर्टअनुसार राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिन केन्द्रित सैन्य कारबाहीका क्रममा ठूलो मानवीय क्षति भएको हो।

शनिबार अमेरिकी सेनाले राजधानी काराकाससहित विभिन्न शहरहरूमा व्यापक हवाई तथा स्थल आक्रमण गरेको थियो। सोही क्रममा राष्ट्रपति मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई अमेरिकाले न्यूयोर्क पुर्याएर हिरासतमा राखेको जनाएको छ।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा कुनै मानवीय क्षति नभएको दाबी गरेका थिए। तर भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले अमेरिकी कारबाहीमा सर्वसाधारण र सैनिक मारिएको उल्लेख गरेको छ।
रिपोर्टअनुसार आक्रमणमा १५० भन्दा बढी अमेरिकी सैन्य विमान प्रयोग गरिएको थियो। सुरुमा भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारिएको र त्यसपछि हेलिकोप्टरमार्फत सैनिक उतारी मादुरो बसेको निवासमा आक्रमण गरिएको थियो।
अमेरिकी ह्वाइट हाउस वा पेन्टागनले मृतकको संख्या र अपरेसनको पूर्ण विवरणबारे हालसम्म आधिकारिक पुष्टि भने गरेको छैन।
अमेरिकाको नियन्त्रणपछि सत्ता हस्तान्तरण
मादुरोलाई नियन्त्रणमा लिएपछि भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सुम्पिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार उनले तत्काल कार्यभार सम्हालेकी छन्।
डेल्सी रोड्रिगेजले अमेरिकी हस्तक्षेपको कडा विरोध गर्दै राष्ट्रपति मादुरो र प्रथम महिलाको अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेकी छन्। साथै देशको सार्वभौमिकताको रक्षा गर्न सरकार दृढ रहेको बताएकी छन्।
को हुन् डेल्सी रोड्रिगेज ?
डेल्सी रोड्रिगेजको जन्म १८ मे १९६९ मा काराकसमा भएको हो। उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला नेता थिए। कानूनमा स्नातक गरेकी रोड्रिगेज पेशाले अधिवक्ता हुन्।
उनले सञ्चार तथा सूचना मन्त्री, विदेश मन्त्री, संविधान सभा प्रमुख हुँदै २०१८ देखि उपराष्ट्रपतिका रूपमा काम गरिसकेकी छन्। २०२४ मा तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारी पाएकी उनले अमेरिकी प्रतिबन्धबीच ऊर्जा क्षेत्र सम्हाल्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
उनी राष्ट्रपति मादुरोकी विश्वासपात्र सहयोगीका रूपमा चिनिन्छिन् र सरकारको कडा समर्थक मानिन्छिन्।
अन्तर्राष्ट्रिय चिन्ता र आलोचना
अमेरिकी आक्रमणलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा आलोचना बढ्दै गएको छ। आलोचकहरूले यो कारबाही अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको, अमेरिकी कंग्रेसको स्वीकृतिबिनै गरिएको र यसले लाटिन अमेरिकी क्षेत्रमा थप अस्थिरता निम्त्याउने खतरा रहेको बताएका छन्।
यसैबीच न्यूयोर्कको दक्षिणी जिल्लाका संघीय अभियोजकहरूले मादुरो र उनकी पत्नीविरुद्ध लागुऔषध तस्करीलगायत गम्भीर आपराधिक अभियोगमा मुद्दा दर्ता गरेका छन्।






