धार्मिक विवादपछि मधेश अशान्त, वीरगञ्जमा प्रदर्शन र कडा सुरक्षा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२० पुस २०८२, आइतबार | जनकपुरधाम

सामाजिक सञ्जाल टिकटकमा गरिएको धार्मिक विषयसम्बन्धी अभद्र टिप्पणीपछि मधेश प्रदेशमा तनाव फैलिएको छ । धनुषाबाट सुरु भएको घटनाको प्रभाव पर्साको वीरगञ्जसम्म पुगेपछि सुरक्षा निकायले प्रदेशभर सतर्कता कडा बनाएको छ ।

धनुषा, पर्सासहित मधेशका आठै जिल्लामा सम्भावित अप्रिय घटना रोक्न अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ । एक उच्च सुरक्षा अधिकारीका अनुसार अवस्था संवेदनशील बन्दै गएपछि निगरानी र गस्ती बढाइएको हो ।

केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाले टिकटकमार्फत धार्मिक सहिष्णुतामा खलल पुग्ने सामग्री सार्वजनिक गरेका थिए । उक्त विषयलाई लिएर स्थानीय अगुवाहरूले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल चलिरहेका बेला पक्राउ गरिएको भन्ने हल्ला फैलिँदा केही युवाहरू आक्रोशित भएका थिए । सोही क्रममा मस्जिदमा आक्रमणसमेत भएको थियो । घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिएका छन् ।

यसै घटनाको विरोधमा आइतबार बिहानदेखि वीरगञ्जमा प्रदर्शन जारी छ । स्थिति नियन्त्रणमा राख्न सुरक्षाकर्मीहरू परिचालन गरिएको छ भने प्रशासनले नागरिकलाई संयमता र शान्ति कायम गर्न आग्रह गरेको छ ।

Leave a Comment