सरकारी बक्यौता नतिर्ने ५२ जनाको नामसहित ‘तीनपुस्ते’ विवरण सार्वजनिक, ३५ दिनभित्र नतिरे सम्पत्ति जफत हुने चेतावनी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ११ माघ — सरकारलाई तिर्नुपर्ने रकम लामो समयसम्म नतिरेका ५२ जनाको विस्तृत ‘तीनपुस्ते विवरण’ सार्वजनिक गरिएको छ। महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहलले आइतबार नाम, ठेगाना र बक्यौता रकमसहितको सूची सार्वजनिक गर्दै कडा चेतावनी दिएको हो।

सार्वजनिक सूचीमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र पोखरास्थित दि फूलबारी लिमिटेडका पियुष बहादुर अमात्य लगायत विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरू परेका छन्। सूचीमा कर्मचारी, कृषि व्यवसायी तथा सशस्त्र प्रहरीसँग सम्बन्धित व्यक्तिसमेत समावेश छन्।

कार्यालयले सूचना जारी गर्दै ती सबै व्यक्तिलाई ३५ दिनभित्र साँवा र ब्याजसहित सम्पूर्ण रकम बुझाउन निर्देशन दिएको छ। तोकिएको अवधिभित्र रकम नतिरेमा सम्बन्धित व्यक्तिको चल तथा अचल सम्पत्ति दाबी गरी कानुन बमोजिम असुलउपर गरिने स्पष्ट चेतावनी दिइएको छ।

तहसिल कार्यालयका अनुसार, बक्यौता असुलीका लागि विगत वर्षहरूमा पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। सम्बन्धित व्यक्तिहरूको घर ठेगानामा पत्राचार गरी उपस्थित हुनसमेत भनिएको थियो। तर ती प्रयासबाट पनि रकम असुल हुन नसकेपछि बाध्य भएर यसपटक तीन पुस्तासम्मको विवरणसहित सार्वजनिक सूचना जारी गरिएको जनाएको छ।

सरकारी स्रोतका अनुसार, यस्तो सार्वजनिक प्रकटीकरणले बक्यौता असुली प्रक्रिया कडाइका साथ अघि बढाइएको संकेत गर्दछ।

Leave a Comment