निर्वाचन सुरक्षामा नेपाल–भारत सहकार्य: मतदानअघि ४८ घण्टा सीमा नाका बन्द सीमा अपराध नियन्त्रण र संयुक्त गस्ती तीव्र बनाउने समझदारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

विराटनगर, माघ २३ — आउँदो प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल र भारतबीच निर्वाचनभन्दा ४८ घण्टा अगावै सीमा नाका पूर्ण रूपमा सील गर्ने सहमति भएको छ। दुवै देशका सीमा सुरक्षा निकायबीच भएको उच्चस्तरीय बैठकले सीमा सुरक्षालाई थप कडा बनाउने निर्णय गरेको हो।

मोरङको विराटचोकमा शुक्रबार सम्पन्न १६औँ डीआईजीस्तरीय समन्वय बैठकमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का उच्च अधिकारी सहभागी थिए।

संयुक्त गस्ती र निगरानी कडा

बैठकले निर्वाचन अवधिभर संयुक्त सीमा गस्तीलाई तीव्रता दिने र सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने समझदारी गरेको छ। सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेका अनुसार सीमा नाका निर्वाचनभन्दा ४८ घण्टा अगावै बन्द गरिनेछ।

अवैध गतिविधि नियन्त्रणमा साझा प्रतिबद्धता

सीमा क्षेत्रमा हुने अवैध आवतजावत, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश, मानव बेचबिखन, जाली नोटको कारोबार, हातहतियार तस्करी र लागुऔषध ओसारपसार नियन्त्रण गर्न दुवै देशले संयुक्त रूपमा काम गर्ने सहमति जनाएका छन्।

‘सीमा मित्रताको प्रतीक’

बैठकलाई सम्बोधन गर्दै डीआईजी न्यौपानेले नेपाल–भारत सीमा केवल भौगोलिक रेखा नभई पुरानो मित्रता, विश्वास र सहकार्यको प्रतीक भएको बताए।

भारतीय सशस्त्र सीमा बलका डीआईजी सरोजकुमार ठाकुरले अन्तरदेशीय अपराध नियन्त्रण र सीमा सुरक्षामा नेपाली सशस्त्र प्रहरीसँगको सहकार्य अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे।

उच्चस्तरीय सहभागिता

बैठकमा नेपालतर्फबाट डीआईजीहरू कुमार न्यौपाने, अन्जनीकुमार पोखरेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा सहभागी थिए भने भारतीय पक्षको नेतृत्व डीआईजी सरोजकुमार ठाकुरले गरेका थिए।

Leave a Comment