टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको दबदबा क्यानडालाई ५७ रनले हराउँदै शानदार सुरुआत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

माघ २७, २०८२ | काठमाडौं

आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले प्रभावशाली सुरुआत गरेको छ। गएराति भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको खेलमा दक्षिण अफ्रिकाले क्यानडालाई ५७ रनको फराकिलो अन्तरले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१३ रन बनायो। यो हालसम्मको विश्वकपमा बनेको सबैभन्दा ठूलो योगफल हो। कप्तान आइदेन मार्करमले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ५९ रन जोडे। उनले १० चौका र एक छक्का प्रहार गरे। अर्का ओपनर क्विन्टन डी ककले २५ रन बनाए।

मध्यक्रममा डेविड मिलरले ३९ रन, रायन रिकेलटनले ३३ रन र ट्रिस्टन स्टब्सले ३४ रन जोड्दै दक्षिण अफ्रिकाको स्कोरलाई मजबुत बनाए।

२१४ रनको विशाल लक्ष्य पछ्याएको क्यानडाले २० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो। क्यानडाका नवनित धलिवालले सर्वाधिक ६४ रन बनाए पनि टिमलाई जिततर्फ डोर्‍याउन सकेनन्। उनले ४९ बलमा सात चौका र एक छक्का प्रहार गरे। हर्ष थाकेरले ३३ रन जोडे।

धलिवाल र थाकेरले चौथो विकेटका लागि ६९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटर टिक्न सकेनन्। कप्तान दिलप्रीत बाज्वा र जसकरन सिंह शून्य रनमै आउट भए।

दक्षिण अफ्रिकाका बलरमध्ये लुन्गी एन्गिडी चम्किए। उनले ४ विकेट लिए। मार्को यान्सेनले दुई विकेट लिए भने कागिसो रबाडा र कोर्बिन कोस्चले एक–एक विकेट हात पारे।

यसै दिन भएका अन्य खेलमा स्कटल्यान्ड र जिम्बाब्वेले पनि विजयी सुरुआत गरेका छन्। स्कटल्यान्डले विश्वकपमा पहिलो पटक सहभागी इटालीलाई ७३ रनले पराजित गर्‍यो। उता, श्रीलंकाको कोलम्बोमा भएको खेलमा जिम्बाब्वेले ओमानलाई ८ विकेटले हरायो।

प्रतियोगिता अन्तर्गत आज बिहान सवा ११ बजे नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुनेछ। त्यसैगरी दिउँसो न्युजिल्याण्ड र यूएई तथा बेलुका सवा ७ बजे अमेरिका र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Comment