काठमाडौं, भदौ २५, २०८३ — एसियाली क्रिकेट काउन्सिल पुरुष प्रिमियर कप २०२६ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल १४७ रनमै समेटिएको छ।
मलेसियाको बायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको हो। नेपालको सुरुवात निकै कमजोर रह्यो। ३६ रन जोड्दा नै टोलीका चार प्रमुख ब्याटर पेभिलियन फर्किएका थिए।
ओपनर देव खनालले १३ तथा मोहम्मद आसिफ शेखले ११ रन बनाए। पहिलो विकेटका लागि उनीहरूले २३ रनको साझेदारी गरे पनि त्यसपछि इशान पाण्डे १ र कप्तान रोहितकुमार पौडेल ३ रनमै आउट भएपछि नेपालको शीर्ष क्रम दबाबमा परेको थियो।
त्यसपछि बासिर अहमद र दीपेन्द्रसिंह ऐरीले पाँचौँ विकेटका लागि ९३ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले। दीपेन्द्रले ७६ बलमा चार चौकासहित ५१ रन बनाए भने बासिरले ८८ बलमा तीन चौका र एक छक्काको मद्दतमा ४७ रन जोडे।
बासिर ३५.५ ओभरमा आउट भएपछि नेपालको इनिङ्स फेरि धराशायी बन्यो। त्यसको केही समयपछि दीपेन्द्र पनि ५१ रनमै आउट भएपछि बाँकी ब्याटरले ठूलो योगदान दिन सकेनन्।
नेपालले अन्तिम ६ विकेट १८ रनमै गुमाएको थियो। गुलशन झाले ७, करण केसीले ५, सन्दीप लामिछानेले ३ रन बनाए भने शेर मल्ल शून्य रनमा आउट भए। ललितनारायण राजवंशी शून्य रनमा अविजित रहे।
ओमानका लागि हसनैन शाह र जय विराम ओडेदराले समान तीन–तीन विकेट लिए। हसनैनले ८.४ ओभरमा २८ रन खर्चिए भने जय विरामले १० ओभरमा एक मेडन राख्दै २६ रन दिए। मोहम्मद इमरानले दुई विकेट लिए।
नेपालले ओमानसामु जितका लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

