जेन–जी आन्दोलनप्रति सरकारको भूमिकामा त्रुटि भएको कांग्रेसको स्वीकारोक्ति
काठमाडौं, फागुन ७ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सरकारका तर्फबाट गम्भीर कमजोरी भएको स्वीकार गरेका छन्। उनले उक्त घटनामा भएको त्रुटिप्रति पार्टी जिम्मेवार रहेको जनाउँदै पीडित परिवारसँग क्षमा मागेका छन्।
बिहीबार काठमाडौंमा आयोजित चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै थापाले आन्दोलनका बेला कांग्रेस सरकारको सहयात्री रहेकाले त्यस समयका निर्णय र गतिविधिको नैतिक जिम्मेवारी लिन पार्टी तयार रहेको बताए।
उनले लोकतान्त्रिक आन्दोलनहरूको परम्परा स्मरण गर्दै २००७, २०४६ र २०६२/६३ का जनआन्दोलनले स्थापित गरेको मूल्य–मान्यताप्रति कांग्रेस सधैं प्रतिबद्ध रहेको उल्लेख गरे। तर भदौ २३–२४ का घटनामा उठेका युवाका मुद्दा सम्बोधन गर्न नसक्दा आत्मसमालोचना आवश्यक भएको उनले बताए।
जेन–जी पुस्ताले उठाएका माग र भावनालाई सम्मान गर्दै कांग्रेस अब युवामैत्री नीति र कार्यक्रममार्फत अघि बढ्ने थापाको प्रतिबद्धता थियो।

