काभा च्याम्पियनसिप : सेमिफाइनलको आशा जोगाउन नेपाल आज बंगलादेशविरुद्ध मैदानमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, साउन १० — पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग महत्वपूर्ण खेल खेल्दैछ। नेपाली समयअनुसार खेल दिउँसो १:४५ बजे सुरु हुनेछ।
प्रतियोगितामा लगातार तीन खेल गुमाएको नेपाल पहिलो जितको खोजीमा मैदान उत्रिन लागेको हो। सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपाली टोलीका लागि आजको खेल ‘गर या मर’ को अवस्थाजस्तै बनेको छ।
नेपालले आफ्नो पछिल्लो खेलमा घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा हार बेहोरेको थियो। पाकिस्तानले २५–१४, २५–१८ र २५–१० को सेटमा सहज जित निकालेको थियो। यसअघि नेपाल काजकिस्तान र श्रीलंकासँग पनि ३–२ सेटको प्रतिस्पर्धात्मक नतिजामा पराजित भएको थियो।
प्रतियोगिताको प्रारम्भिक चरण सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको छ। यस चरणपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् भने बाँकी टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपालले लिग चरणको अन्तिम खेल सोमबार उज्वेकिस्तानसँग खेल्ने तालिका छ। त्यसअघि बंगलादेशविरुद्ध जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्य नेपाली टोलीको रहेको छ।

Leave a Comment