काठमाडौं, असार २ — चीनले नेपालमा आफ्ना कम्पनीहरूको लगानी विस्तार गर्न इच्छुक रहेको जनाउँदै त्यसका लागि निष्पक्ष, पारदर्शी र लगानीमैत्री व्यावसायिक वातावरण आवश्यक रहेको बताएको छ।
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग सोमबार बेइजिङमा भएको भेटवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा चिनियाँ लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्दै लगानीकर्तामैत्री वातावरण निर्माणमा जोड दिएका हुन्।
चिनियाँ विदेश मन्त्रालयका अनुसार वाङले चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने नीति कायम राख्ने उल्लेख गर्दै नेपालले पनि लगानीका लागि अनुकूल वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए।
हाल नेपालमा चिनियाँ लगानी जलविद्युत्, ऊर्जा, सडक, विमानस्थल तथा सिमेन्ट उद्योगलगायत पूर्वाधार क्षेत्रहरूमा केन्द्रित छ। चीनले आगामी दिनमा पनि ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ अन्तर्गत विद्युत् प्रसारण लाइन, सडक सञ्जाल, सीमा नाका र हवाई यातायातका क्षेत्रमा सहकार्य विस्तार गर्ने संकेत दिएको छ।
भेटका क्रममा वाङले नेपाललाई चीनको भरोसायोग्य छिमेकी र साझेदारको रूपमा चित्रित गर्दै विकास र आधुनिकीकरणको यात्रामा निरन्तर सहयोग रहने बताएका थिए। उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा स्थापित रणनीतिक सहकार्यलाई दुई देशबीचको सम्बन्धको नयाँ आधारका रूपमा व्याख्या गरे।
दुवै पक्षले अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य बढाउँदै विकासशील राष्ट्रहरूको साझा हित संरक्षणका लागि मिलेर काम गर्नुपर्नेमा समेत सहमति जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
भेटवार्तामा चीनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति आफ्नो समर्थन दोहोर्याएको तथा नेपालले ‘एक चीन नीति’प्रति देखाउँदै आएको प्रतिबद्धताको प्रशंसा गरेको पनि उल्लेख गरिएको छ।
चीनको सन्देश : लगानी बढाउँछौँ, नेपालले व्यावसायिक वातावरण सुधारोस्
Leave a Comment
Leave a Comment






