घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ, क्वाटरबाट ८ लाख २१ हजार रुपैयाँ बरामद

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
फोटो-एआइ

जनकपुरधाम, साउन ९ – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुखको सरकारी क्वाटरमा छापा मार्दा सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ नगद बरामद गरेको हो। उक्त रकम ढकाल बसेको सोफाबाट फेला परेको अख्तियारले जनाएको छ।
खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ पनि बरामद भएपछि कुल ८ लाख २१ हजार ११५ रुपैयाँ नगद फेला परेको छ।
अख्तियारका अनुसार जल उपभोक्ता समितिहरूले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीका लागि जाँदा डिभिजन प्रमुख ढकालले मेकानिकल अधिकृत तुलाकान्त चौधरीमार्फत घुस मागेका थिए। चौधरीले सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझेर डिभिजन प्रमुखको सरकारी क्वाटरमा पुर्‍याएको आरोप छ।
घटनापछि अख्तियारले दुवै अधिकारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ। आयोगले घटनाबारे आवश्यक प्रमाण संकलन गरी कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

Leave a Comment