लन्डन १५ फागुन। कडा आप्रवासन नियमका कारण वर्क भिजामार्फत बेलायत जाने कामदारको संख्यामा ठूलो गिरावट आएको छ।
सरकारी तथ्यांकअनुसार सन् २०२५ मा बेलायतले एक लाख ६८ हजार वर्क भिजा जारी गरेको छ। यो संख्या सन् २०२४ को तुलनामा १९ प्रतिशत र सन् २०२३ को तुलनामा करिब ५० प्रतिशत कम हो।
हेल्थ एण्ड केयर रुटमा वर्क भिजा संख्या आधा घटेको छ भने अन्य दक्ष कामदार भिजा ३६ प्रतिशतले घटेको देखिएको छ। डिसेम्बर २०२५ सम्म एक वर्षमा १३ हजार १७७ हेल्थ एण्ड केयर भिजा मात्र जारी गरिएको थियो। अघिल्लो वर्ष यही संख्या २६ हजार ९२२ थियो।
कामदारको न्यूनतम तलब सीमा बढाइनु, ग्राजुएट लेभलको जागिर अनिवार्य गरिनु र अंग्रेजी भाषा बीटु स्तर आवश्यक बनाइएकाले वर्क भिजा आवेदन घटेको विश्लेषण गरिएको छ।
अध्यागमन कानुन व्यवसायीहरुका अनुसार हाल दक्ष कामदार भिजाका लागि करिब ४१ हजार ७ सय पाउण्ड वार्षिक तलब, ग्राजुएट स्तरको काम र अंग्रेजी भाषा योग्यता अनिवार्य भएपछि रोजगारदाता र आवेदक दुवै निरुत्साहित भएका छन्।
वर्क भिजामा कमी आए पनि अवैध मार्गबाट बेलायत प्रवेश गर्नेको संख्या भने बढेको छ। डिसेम्बर २०२५ सम्म एक वर्षमा ४६ हजार ४९७ जना अवैध रुपमा बेलायत प्रवेश गरेका थिए। यो अघिल्लो वर्षभन्दा ७ प्रतिशत बढी हो। अवैध रुपमा प्रवेश गर्ने मध्ये अधिकांश साना डुंगाबाट आएका थिए।
विदेशी नर्सको आगमन पनि तीव्र घटेको छ। सन् २०२२ मा २६ हजार १०० विदेशी नर्स बेलायत पुगेका थिए भने सन् २०२५ मा यो संख्या घटेर एक हजार ७ सय ७७ मा झरेको छ। यसले बेलायतका अस्पताल र केयर क्षेत्रमा जनशक्ति अभाव बढ्ने चेतावनी विज्ञहरुले दिएका छन्।
यसैबीच बेलायतबाट जबरजस्ती निकालिने आप्रवासीको संख्या २१ प्रतिशतले बढेर ९ हजार ९०० पुगेको छ। शरणार्थी भिजाका लागि आवेदन दिने संख्या भने अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले घटेको छ।

