काठमाडौं, पर्सा र मोरङमा लागूऔषधविरुद्ध प्रहरीको कारबाही : १७० किलो गाँजा बरामद, तीन जना पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
फोटो-एआइ

काठमाडौं, साउन १० — नेपाल प्रहरीले काठमाडौं, पर्सा र मोरङमा सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा १७० किलो गाँजा तथा ब्राउन सुगर बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। एक स्थानबाट ठूलो परिमाणमा गाँजा बेवारिसे अवस्थामा समेत फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौंको सुन्दरीजल क्षेत्रमा शनिबार राति करिब १ बजे नियमित सवारी जाँचका क्रममा बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलबाट ३० किलो गाँजा बरामद गरिएको हो। सोही घटनामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्दै आएका २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल निवासी ५४ वर्षीय अम्बक तामाङ पक्राउ परेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ।
यसैगरी पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक बगैंचाबाट शनिबार राति करिब ९ बजे प्रहरीले १४० किलो गाँजा बेवारिसे अवस्थामा बरामद गरेको छ। उक्त गाँजा कसले त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उता, मोरङको कानेपोखरी गाउँपालिका–२ देउलिया खोलानजिक प्रहरीले अर्को कारबाही गर्दै ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित बेलबारी नगरपालिका–११ निवासी रणध्वज राईलाई पक्राउ गरेको छ। उनी प्रदेश १–०२०४४ प ११८ नम्बरको मोटरसाइकलमा रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेका बेला लागूऔषधसहित नियन्त्रणमा लिइएका हुन्।
प्रहरीले तीनै घटनामा लागूऔषधको स्रोत, संलग्न व्यक्तिहरू र सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Comment