विगतभन्दा शान्तिपूर्ण निर्वाचन, मतगणना आजै बेलुकादेखि सुरु हुन सक्ने’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२१ फागुन, काठमाडौं । निर्वाचन आयोगले यसपटकको प्रतिनिधि सभा निर्वाचन विगतको तुलनामा शान्तिपूर्ण रूपमा भइरहेको जनाएको छ। आयोगका अनुसार बिहीबार अपरान्ह ३ बजेसम्म देशभर करिब ४० देखि ५० प्रतिशतसम्म मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

निर्वाचन आयुक्त डा. जानकी तुलाधरले १६५ वटै निर्वाचन क्षेत्रबाट मतदानको विवरण अद्यावधिक भइरहेको बताइन्। उनका अनुसार मतदान केन्द्रहरूबाट प्राप्त विवरण प्रणालीमा प्रविष्ट भइरहेको छ र अपरान्ह ५ बजेसम्म अधिकांश विवरण अद्यावधिक हुने अपेक्षा गरिएको छ।

कतिपय स्थानमा मतदाताको भीड बढी भएकाले विवरण प्रणालीमा इन्ट्री गर्न समय लागेको आयोगले जनाएको छ।

आयुक्त तुलाधरका अनुसार हालसम्म अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। कतिपय स्थानमा सामान्य विवादका कारण केहीबेर मतदान प्रभावित भए पनि पुनः सुचारु गरिएको छ।

हिमाली तथा दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको आयोगले जनाएको छ। मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थलमा ल्याइनेछ।

आयोगका अनुसार सबै स्थानबाट मतपेटिका मतगणनास्थलमा पुगेपछि मतगणना सुरु हुनेछ। यदि मतपेटिका समयमै पुगेमा आजै बेलुकादेखि मतगणना सुरु हुन सक्ने आयोगको भनाइ छ।

निर्वाचन आयोगले मतदानको अवस्थाबारे थप जानकारी दिन अपरान्ह ६ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।

Leave a Comment